झापाली पत्रकारितामा एउटा निरनतरता र सफल नाम हो – तीर्थ सिग्देल । नवोदित पत्रकारहरुका लागि आधारभूत सिकाइका स्रोत बन्नसक्ने उनको अनुभव छ । पत्रकारिता क्षेत्रमा उनको अनुभव, भोगाइ, कार्यशैली आउँदो पीडिलाई मार्गदर्शन बन्न सक्छ ।
पत्रकारिता— राज्यको चौथो अंग समाजको दर्पण हो । पत्रकार समाज परिवर्तनका संवाहक, आवाजविहीनहरुका आवाज पनि हो ।
कति सुन्दर अनि सम्मानजनक उपमा पत्रकारिता क्षेत्रको । ‘भनाइमा, लेखाइमा त्यस्तै नै हो ’ भने – ‘थाहै छ नि ! आफू अनुकूल समाचार लेख्दा ‘निरपेक्ष पत्रकारिता’ भन्ने र आफूप्रतिकूल समाचार छापिँदा ‘पीत पत्रकारिता’ भन्दै पत्रकारिताको धज्जी उडाउने, पत्रकारको ज्यान नै लिने प्रवृत्ति यही समाजमा छ । ’
मलाई त कहिलेकाहीँ दिक्क पनि लाग्छ– कस्तो पेशा रोजिएछ भनेर ।’ उनको पत्रकारिता खुकुरीको धारमा हिँडिरहेको पेशाको यथार्थ हो । उनले यसरी मुख खोले । अहिले उनको यो भनाईले समग्र पत्रकारिता क्षेत्रलाई प्रतिबिम्बित त गर्छ । तर उनी आफै भने यस पेशामा सन्तुष्ट देखिन्छन् । उनी भन्छन्, ‘यो पेशामा ग्ल्यामर छ, चर्चा छ ।’
क्षमता हुनेले राम्रो आम्दानी गरेका उदाहरण छन् र कोही नसकेर पलायन भएका तथ्य पनि छन् । यद्धपि सिग्देलले यस पेशाबाट पछि हट्नु परेको छैन । बरु उनीसंगै काम गरेका र उनले सिकाएका पत्रकारहरुले ठूलै प्रगति गरेका उदाहरण छन् ।
तीर्थ सिग्देलका केही पारिवारिक जीवनगाथा र झापाको बिर्तामोडसम्मको जीवनयात्रा छ गजबको छ । पत्रकारितामा ०५० सालमा नयाँ कामनादेखि बिर्ताज्योती साप्ताहिकसम्मको पेशागत भोगाइ एकोहोरो भन्दै थिए उनी ।
उनी पूर्ववत बेलिबिस्तार लगाउन थाले – ‘मेची क्याम्पसमा आइकम पढ्दै थिएँ । लेख्ने सोख थियो । त्यतिखेर चल्तापूर्जा पत्रकार हुनुहुन्थ्यो फुपाजु गोपीकृष्ण खनाल । गोसु छापाखाना चलाउनुहुन्थ्यो, नयाँ कामना, मनकामना साप्ताहिक नामका दूईबटा पत्रिका प्रकाशन गर्नुहुन्थ्यो आफ्नै सम्पादनमा । त्यही पत्रिकामा उहाँले सहयोगीका रुपमा मलाई काम दिनु भयो ।
मेरो पत्रकारिताको पहिलो पाठशाला त्यही थियो । त्यही क्रममा ०५१ मा फुपाजु काठमाडौं जानु भयो मलाई –‘सके पत्रिका निकाल्नु नसके अरु काम गर्दै गर्नु’ भनेर । सातापछि उहाँ आउँदा उहाँकै शैलीमा पत्रिका प्रकाशन भएको देखेर छक्क पर्नु भयो । त्यसपछि लेखनको जिम्मेवारी थपियो र ममा पनि शीप र आत्मविश्वास बढ्यो । यसरी मेरो पत्रकारिता शुरु भो ।
उनले भने–‘पहिचान बनिसकेको थियो मेरो । पत्रकारितामा रुचि बसिसकेको थियो । राष्ट्रिय पत्रिकामा काम गर्ने इच्छा जाग्यो, ‘बाइनेम’ समाचार छाप्न मन लाग्यो ।
हाल नेकपा एमालेका सांसद तथा झापा बिद्रोहका उकजना नायक नरेश खरेललाई आफ्नो इच्छा व्यक्त गरेँ । उनले सीपी मैनालीलाई चिठ्ठी लेखिदिए,सीपी मैनालीले राजधानीबाट निस्कने ‘प्रकाश साप्ताहिक’का सम्पादक बोधराज त्रिपाठीलाई भनिदिए ।
मैले समाचार पठाएँ, बाइनेम ‘प्रकाश’ मा छापियो । त्यसपछि म राष्ट्रियस्तरको पत्रकार भएँ । त्यसपछि सौर्य, जनआस्थामा काम गरेँ भने ०५४ मा सरकारी सञ्चार माध्यम रेडियो नेपाल र गोरखापत्रमा काम पाएँ ।
झापाका अग्रज पत्रकार लीला बराल दाइको सिफारिशमा श्री सगरमाथा दैनिकमा काम गरेँ, नेपाल समाचारपत्रमा करिब ८ बर्ष काम गरेँ । समाचारपत्रको उत्कृष्ट समाचारदाता पनि भएँ । बीचबीचमा हिमालमा पनि स्वतन्त्ररुपमा फिचरहरु लेखें मैले । अहिले आफैं सम्पादक÷प्रकाशक भएर बिर्ताज्योति चलाइरहेको छु ।’
यसबीचमा पत्रकारिता सम्बन्धी विभिन्न तालिमहरुमा संलगन भए उनी । तीमध्ये, खोज पत्रकारिता केन्द्रले ०६२ सालमा दिएको तीन महिने ‘पत्रकारिता पाठशाला’ तालिमले पत्रकारितामा अलिक बढी सैद्धान्तिक बनायो रे उनलाई ।
‘यसै त पत्रकारिता प्राविधिक विषय हो, डिग्री हासिल गर्नेले पनि शीप छैन भने पत्रकारिता गर्न सक्तैन, शब्द–भाषाको ज्ञान छैन पत्रकारिता गर्न सकिँदैन,’ उनले भने –‘तर, सैद्धान्तिक पक्षहरुको ज्ञानबिनाको पत्रकारिता अपाङ्ग हुने रहेछ भन्ने त्यही पाठशालामा सिकेँ मैले ।’
तालिम सकेर झापा आएपछि आफैंले दैनिक पत्रिका शुरु गरे उनले न्यू मेची टाइम्स दैनिक साउनमै सुरु भएको हो मेची टाइम्स २०६३ मा । उनलाई फिचर लेखनका लागि दक्ष ठानिन्छ ।
तीर्थ सिग्देलले झापाको प्रसिद्ध केटो पत्रकारिताका पुरस्कार पाइसकेका छन् भने नेपाल समाचारपत्रबाट टप टेन सम्वाददाताको पुरस्कार पनि पाएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष भइसकेका उनी प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि हुन । उनको पछिल्लो अनुभबलाई पुस्तकको रुप पनि दिएका छन् ।
जीवनको गति नाम पुस्तक प्रकाशन गरि एउटा अलग्गै पहिचान बनाएका सिग्देल अरु पुस्तकको तयारीमा छन् । एउटा पत्रकार असल लेखक बन्न सक्ने अनुभव छ, उनको । किनभने उनी भन्छन्, ‘एउटा पत्रकारले हरेक घटनाक्रमलाई जसरी नियाल्न सक्छ,एउटा बिशुद्ध लेखकले त्यो सक्दैन । ’
‘पत्रकारिता जीवनका साह्रै सुखद् क्षण र अत्यन्त दुःखलाग्दो पले ?’ उनले भने, – ‘सुखद क्षण त्यो रह्यो जतिखेर राष्ट्रिय पत्रिकामा पहिलो बाइनेम समाचार छापियो’,
उनले थपे – दुःखद् पल ०६८ चैत २१ को रात थियो, जुन रात आफैंले आफ्नै पत्रिकाको सहकर्मीको यादब पौडेलको हत्याको समाचार लेख्नु पर्यो । कस्तो भयो होला मलाई त्यतिखेर तपाई पनि अनुमान गर्न सक्नु हुन्छ । त्यसै दिन म पनि नरहन सक्थे ।’










