काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु अनपेक्षित र दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गरी आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।

लिङ्देनले भने, ‘उहाँले पठाउनु भएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँ समेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निणर्य हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत मंसिरमा पार्टी महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा पूर्व राजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए । उनले पूर्वराजाको हस्तक्षेपत्रको विषयमा छानबिन गर्न तीन पटक अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पनि गराएका थिए । लिङ्देनले भने थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताए ।

‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निणर्य आउनु दुर्भाग्यपूर्ण हो’ लिङ्देनले भने ।

राप्रपा पदाधिकारीको अनौपचारिक बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि पदाधिकारीको अनौपचारिक बैठक बस्ने भएको छ । महामन्त्री भुवन पाठकका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनसहित पदाधिकारीहरूको बैठक बस्न लागेको हो ।

अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमा जुट्न लागेको उनले जानकारी दिए । ‘बृहत् समीक्षात्मक बैठक पछि बस्ला, अहिले हामी पदाधिकारीहरू अनौपचारिक बैठक बस्छौं । म अध्यक्ष ज्यू भेट्न जाँदैछु’, उनले भने ।