
काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ ।
संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो ।
बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा सांसदद्वय खेम लोहनी र लक्ष्मी परियार रहनुभएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नुपरेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरूले आयातीत पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका थिए । एमाले नेता एवम् सांसद भीम रावलले नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराउनुभयो ।
कांग्रेस नेता एवं सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्नसमेत सरकारको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राख्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग आग्रह गर्नुभयो । त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत काम गर्नुपर्ने उहाँको सुझाब थियो ।
यता, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा विक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको स्पष्टीकरण समितिमा दिनुभएको थियो । उहाँले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताउनुभयो । निगमले सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गरिरहनु परेको जनाएको छ ।