काठमाडौं । प्रतिनिधिसभा कार्य व्यवस्था तथा परामर्श समितिको आज (बुधबार) को बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको थियो ।
सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निणर्य सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय सुनाएका हुन् । कार्यव्यवस्थाको बैठकमा नेकपा एमाले र जसपाका नेता अनुपस्थित थिए ।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा छलफल भयो । तर, सहभागी दलहरूबीच सहमति जुट्न नसक्दा एमसीसी प्रतिनिधिसभाको आजको बैठकको एजेण्डा नबन्ने भएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाको बैठक अहिले केहीबेरमा शुरु हुनेछ ।



