काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा उभिने भएको छ ।
सरकारले एमसीसीलाई संसदमा लैजाने तयारी गरेसँगै समाजवादीले विपक्षमा उभिने निणर्य गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘’अमेरिका एमसीसी संशोधनका लागि तयार छैन । हामी संशोधन नगरी पास गर्ने पक्षमा छैनौं । यसकारण मिलनबिन्दु भेटिने अवस्था छैन’, खतिवडाले भने, ‘यस मामिलामा हामी प्रष्ट छौं । यही अवस्थामा एमसीसी पास गर्न सकिँदैन । सरकारमा भए पनि हामी एमसीसीको विपक्षमा उभिन्छौं ।’
खतिवडाले अहिलेकै अवस्थामा एमसीसीलाई सदनमा लैजानै नदिने रणनीतिमा आफूहरु रहेको पनि बताए । ‘हामी एमसीसी संसदमा टेबल गर्नै नदिने पक्षमा छौं । यदि जबरजस्ती टेबल भएमा विपक्षमा उभिन्छौ’, उनले भने, ‘हाम्रा लागि देशभन्दा ठूलो सत्ता र गठबन्धन हुन सक्दैन ।’
समाजवादी एमसीसीको विरोधमा केही दिनदेखि सडक आन्दोलनमा छ । यो पार्टीका सम्मानित नेता झलनाथ खनाल सुरुदेखि नै एमसीसी स्वीकार्नै नहुने पक्षमा छन् । यसअघि सत्तारुढ नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले एमसीसी सहमतिबिना संसदमा लगिए सरकारबाटै बाहिरिने निणर्य गरिसकेको छ । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपाल पनि माओवादी र नेकपा समाजादीकै लाइनमा उभिएको छ । अहिले गठबन्धनका पाँच दलमा कांग्रेस मात्रै एमसीसी पास गर्ने पक्षमा छ ।



