झापा । धरानमा विभत्स ढंगमा हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यलय सुनसरीले मृतकको स्केच सार्वजनिक गरेको छ। शव फेला परेको ६ दिन बितिसक्दा पनि अझै मृतकको पहिचान नखुलेपछि मृतकको स्केच सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

गत फागुन ४ गते साँझ सुनसरी धरान(४ स्थित धरान धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा जेब्रा झोलामा शव फेला परेको थियो। झोलामा प्याक गरिएको अवस्थामा पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस दाउरा खोज्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कुकुरसहितको टोली र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सकसमेत अनुसन्धानमा खटिएका थिए। गत बिहीबार बिहान अर्को स्थानबाट झोलामा बाँकी शरीर फेला परेको थियो। शरीरका पूरै भाग फेला परे पनि ती पुरूषको सनाखत हुन सकेको छैन। सनाखत हुन नसक्दा प्रहरी अनुसन्धानमा कठिनाइ भएको छ।