झापा । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।

वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सहमति भइसकेको दाबी गर्छन्। ‘आगामी निर्वाचनमा हामी मिलेरै जाने हो, सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, त्यहाँ मिल्ने हो,’ आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे नेपालले बताए।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन हुने र प्रतिगमनलाई परास्त गर्ने बताएका थिए। चुनावी तालमेललाई लक्षित गरेर तयारी थाल्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।