हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा शनिबार साँझ एक समारोहका बीच प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले विगतमा मन्त्रालय विभाजन गर्यो भनेर विरोध गर्नेहरुको लागि प्रतियोगिता एउटा गतिलो जवाफ भएको बताए । उनले आफ्नो नेतृत्वमा रहेको सरकार र मन्त्रीहरुले मन्त्रालय विभाजन गरेर खर्च बढाएको नभइ सबै क्षेत्रलाई प्राथमिकतामा राखेर राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने गरि काम गरिरहेको बताए ।

विगत चार वर्षसम्म सरकार संचालन गर्नेहरुले गर्न नसकेको प्रतियोगिता गर्न सफल भएकाले यो सरकारको गौरवको कुरा भएको उनको भनाई छ । मुख्यमन्त्री पाण्डेले आगामी दिनमा संसद्मा छलफलको अवस्थामा रहेको उच्च शिक्षा विधेयक सदनबाट पारित गरेर सरकारले खेलकुद क्षेत्रको विकासको लागि खेलकुद एकेडेमी र विश्वविद्यालय स्थापना गरी सन्चालन गर्ने बताए ।

प्रतियोगिता उद्घाटन समारोहमा मानन्धरसहित ओलम्पिया दीपक विष्ट, संगीना वैद्य र कान्छिमाया कोजु सहभागी भएका थिए । समारोहमा सेना, प्रहरी, खेलाडी तथा विद्यार्थीहरुले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, एथ्लेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । खेलहरु मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।

मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, ब्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ ।

काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङको प्रतियोगिता हुनेछ । प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय