काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्ने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन् ।

नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नगरपालिका प्रमुखहरुको सुझावका आधारमा स्थानीय तहलाई स्थानीय सरकार बनाउन समस्या नरहेको बताएका हुन् । संविधानले स्थानीय तह भन्दै आएकोमा स्थानीय सरकार बनाउन दलीय सहमति भने जुट्नुपर्ने देउवाको भनाई छ ।

कार्यक्रमका अधिकांश वक्ताले संविधानले ३ तहको सरकारको परिकल्पना गरे पनि स्थानीय ‘सरकार’ नभनेर तह मात्रै भन्नु उपयुक्त नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् । ‘तह र सरकार भन्ने कुरा ठूलो होइन । तह हटाएर सरकार नै राखिदिउँला । त्यसको लागि दलीय सहमति पनि बनाउँला । मुख्य कुरा डेलिभरी हो । नगरपालिकाहरुले जनतालाई डेलिभरी दिनुपर्‍यो’, देउवाले भने ।

स्थानीय तहको काम हेरेरै जनताले समग्र शासन व्यवस्थाबारे धारणा बनाउने भन्दै प्रधानमन्त्री देउवाले देशभरका शहरहरुलाई व्यस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूणर् भूमिका खेल्नुपर्ने बताए । ‘नामले भन्दा कामले चिनिने हो । नगरपालिकाहरुले नमूनाका रुपमा स्थापित हुने गरी काम गर्नुपर्छ । विकास र कानून निर्माणमा स्थानीय सहभागितालाई बढावा दिनुपर्छ’, देउवाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर