काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिनुभएको छ ।
ओलीकै घमण्डका कारण वामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताउनुभयो ।
गौरीशंकर मिडिया प्रालिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा विचौलियालाई बुझाएको दाबी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहनुभएका मन्त्री आलेले ओलीमा महाभारतको दूर्योधनभन्दा पनि बढी घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन । तपाईहरु मूल्यांकन गर्नुहोस् । जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन ।’
मन्त्री आलेले आगामी ३ वर्ष भित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताउनु भयो । त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि उहाँले बताउनु भयो । मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउनेपर्ने पनि बताउनु भयो ।