कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिका १ गुगौलीमा रहेको दूधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ ।

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसर आज आइतवार दिनभर तनावग्रस्त भएको छ । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरि विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । तनावग्रस्त भिडलाई तितरबितर पार्न प्रहरीले ८ राउन्ड अश्रु ग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रणबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन् । झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो । झडपमा १२ जना सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराइ समस्या समाधान गरिएको छ ।