काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिनुभयो ।
भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो ।
चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो ।
पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण समेत गरिएको छ । दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि भएको छ ।



