काठमाण्डाै - आज राम नवमी । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ।

आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको धार्मिक विश्वास छ।

राम नवमीका अवसरमा काठमाण्डौको बत्तीसपुतलीमा रहेको राम मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राम मन्दिरमा मेला लाग्ने गर्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्छ ।

रामजानकी मन्दिरमा भारतबाट समेत ठूलो सङ्ख्या श्रद्धालु भक्तजन आउने गर्छन् । यसैबीच, राम नवमीका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।