
बिर्तामोड नगरपालिकाको मेयरमा १० जनाको उम्मेदवारी परेको छ । ९ जना राजनीतिक दलको तर्फबाट र एक जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडका अनुसार एमालेबाट मेयरमा पवित्रादेवी महतारा, उपमेयरमा नगेन्द्र सङ्ग्रौलासहित ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट मेयरमा ध्रुवकुमार उप्रेती र उपमेयरमा रञ्जु प्याकुरेलसहितले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, मौलिक जरोकिलो पार्टीका तर्फबाट मेयरमा प्रज्वल अधिकारी शर्मा र उपमेयरमा रितादेवी निरौलाले उम्मेदवारी दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट मेयरमा राजकुमार लावती र रितादेवी शेर्माले उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै नगेन्द्र अधिकारीले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।त्यस्तै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भोजराज सिटौलाले मेयरमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा माओवादी केन्द्रका तर्फबाट सिपी कडरियाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मेयरमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट अञ्चल धिमाल , जनता समाजवादी पार्टीका तर्फबाट उदय गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तर्फबाट मनकुमार खुदाङ लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उपमेयरमा नेकपा समाजवादीका तर्फबाट तीर्थ सिग्देल ,जनता समाजवादीका तर्फबाट चीजा राई , विवेकशील साझा पार्टीका तर्फबाट निशा सोनी कर्णले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए ।
बिर्तामोडमा जम्मा २२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयर १०, उपमेयर ९ , वडाध्यक्ष ५४ , महिला सदस्य ३७ , दलित महिला सदस्य ३१, खुल्ला सदस्यमा ८२ जनाले उम्मेदवारी दर्ता गराएको काफ्लेले जानकारी दिए । गठबन्धनका तर्फबाट सयौँको सङ्ख्यामा ठुलो तामझामका साथ कांग्रेसले उम्मेदवारी दर्ता गराएको थियो ।