नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले आमजनतामा भ्रम छर्ने काम गरेकाे आराेप लगाएका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सत्तागठबन्धन वर्षौँसम्म जाने नभई आफू र आफ्ना नातेदारहरूलाई जिताउन मात्र भएको दाबी गरे।

पत्रकारसँग ओलीले भने, ‘सत्तागठबन्धनका शीर्ष नेताले गठबन्धन अब १५–२० वर्षसम्म टिकिरहनेछ भनेर जनतालाई ढाँटिरहेका छन्। यो गठबन्धन त केवल आफू, आफ्ना परिवारका सदस्यहरू श्रीमती, छोरी र ज्वाइँलाई जिताउने षड्यन्त्र मात्रै हो।’

पूर्वप्रधानमन्त्री ओलीले सत्ताधारी वाम–लोकतान्त्रिक गठबन्धनलाई खरानीको डल्लाको संज्ञा दिँदै केही दिनमै फुट्ने दाबी गरे। उनले भने, ‘यो सत्तागठबन्धन खरानीको डल्लो मात्र हो, हेर्नुहोला केही दिनमै फुटेर नासिन्छ।’

अध्यक्ष ओलीले सबैसँग सल्लाह गरेर मात्र शासकीय स्वरूप परिवर्तनबारे छलफल गर्न सकिने बताए। तर, उनले जुनसुकै व्यवस्था आए पनि व्यक्तिको प्रवृत्ति र आचारणले गर्दा समस्या उस्तै रहिरहने भएकाले अहिले शासकीय स्वरूपबारे छलफल गर्न समय भइनसकेको प्रस्ट पारे।

ओलीले भने, ‘देशमा केही व्यक्तिले गर्दा अराजकता निम्तिरहेको छ। उनीहरूको राजनीति उद्देश्य नभई स्वार्थकेन्द्रित भएकोले यस्तो भएको हो।’

अध्यक्ष ओली सुनसरीको दुहबीमा एमालेले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न आएका हुन्। सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रमा एमालेका भगवती चौधरी, कांग्रेसका विजय गच्छदारसँग यसपटक पनि चुनावी प्रतिस्पर्धा गर्दै छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय