भैरहवा — नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासहितको तीनदलीय गठबन्धनले बिहीबार भैरहवामा आयोजित संयुक्त जनसभामा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका सह-इन्चार्ज खिमलाल भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन सक्ने खुबी एमाले पक्षधर गठबन्धनसँग रहेको दाबी गरेका छन् ।

उनले मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि एमाले पक्षधरलाई विजयी गराउन जरुरी भएको समेत बताए । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने विषयबारे नेपाली कांग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कसैले पनि बोल्न नसकेको आरोप उनले लगाए । ‘नेपालको अतिक्रमित भूमि लिपुलेक फिर्ता गर्न र कालापानीबाट भारतीय सेना हटाउन सक्ने क्षमता नेकपा एमाले पक्षधरसँग मात्र छ‚’ भट्टराईले भने, ‘यो कूटनीतिक क्षमता एमाले पक्षधर पक्षसँग मात्र छ ।’

भट्टराईले विगतमा एमाले नेतृत्वकै सरकारको पालामा तिब्बत र चिनसँगको उत्तरी नाकाहरू व्यवस्थित रुपमा खोल्न लगाएर अब नेपालमा नाकाबन्दी लगाउन नसक्ने वातावरण बनाएको दावी गरे । मंसिर ४ गते हुने निर्वाचनबाट आफ्नो पक्षको विजय सुनिश्चित हुने दाबी एमाले पक्षधर तीनदलीय गठबन्धका नेताले गरे ।

सरकारको नेतृत्व सम्हालिरहेको पाँचदलीय गठबन्धनले देश र जनताको पक्षमा कुनै पनि काम गर्न नसकेकाले अबको निर्वाचनमा मतदाताले एमालेको नेतृत्वमा बन्ने सरकारको पक्षमा मतदान गर्ने दाबी उनीहरूले गरे ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले, राप्रपा र जसपासहितको तीनदलीय गठबन्धनको पक्षबाट उम्मेदवार बनेका राप्रपाका दीपक बोहराको तर्फबाट जनसभामा बोल्दै राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले अहिले सरकारको नेतृत्व सम्हालेको पाँचदलीय गठबन्धनकै यदि सरकार बनाएमा मुलुकमा आर्थिक संकट घोषणा गर्ने बाहेक अन्य कुनै पनि विकास निर्माणका कार्य हुन नसक्ने दाबी गरे ।

पाँचदलीय गठबन्धन पक्षको घोषणापत्रमा हेर्दा मुलुकको भावी परराष्ट्र नीति कस्तो हुने ? भन्नेबारे कुनै उल्लेख नभएको र घोषणापत्रमा विकास निर्माण र परराष्ट्र नीतिभन्दा पाँचदलीय गठबन्धन पक्षधरबीच आलोपालो प्रधानमन्त्री बन्ने आन्तरिक सहमति रहेको उनले बताए । ‘बरु उनीहरूले आफ्नो घोषणापत्रमा आगामी पाँच वर्षका लागि पालैपालो पाँचवटा प्रधानमन्त्री बनाउछौं भनेर उल्लेख गरेको हुने थियो‚’ थापाले भने, ‘उनीहरूमा प्रधानमन्त्री बन्न एक अर्कामा म बन्ने भन्दै होडबाजी चल्न थालिसकेको छ ।’

पाँचदलीय गठबन्धन पक्षबीच प्रधानमन्त्री बन्नका लागि आपसमै मारामार हुने अवस्था आइसकेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय