सबैभन्दा उचाइमा रहेको नार (४,२०० मिटर) मा धाराको पानीसमेत जमेको छ । सदरमुकाम चामेबाट निकै टाढा रहेको यो ठाउँमा रूख नहुँदा दाउराको अभाव हुन्छ । पाए पनि निकै महँगो पर्छ ।

मनाङको नार्पाभूमिस्थित ४२‚०० मिटर उचाइमा रहेको नार गाउँ
‘खच्चडमा ग्यास सिलिन्डर बोकेर ल्याइयो, बलेन, चिसोले होला,’ चामेबाट २ दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, ‘आगो फुक्न दाउरा किन्दा भारीको २ हजार पर्‍यो ।’ उनी रहेको केन्द्रमा ६ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र २० जना छन् । नजिकै अरू २ केन्द्र छन् । सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, स्कुल, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेकाले तताएर खान समस्या भएको कर्मचारीहरू बताउँछन् ।

नार्पाभूमिका कुनै पनि बस्तीमा सडक पुगेको छैन । वडा नम्बर ४ फू गाउँ (४०५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो भएको बताए । ‘यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ,’ उनले भने, ‘बाहिर निस्कन सकिरहेको छैन । तापक्रम पक्कै माइनसमा हुनुपर्छ ।’

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार नार र फू गाउँ पुगेका कर्मचारीले निकै दुःख पाएका छन् । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर पुगेका छन् । ‘यसपटक निर्वाचनका सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । २ दिन लगाएर उहाँहरू पुग्नुभयो,’ उनले भने, ‘ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा गाह्रो भयो ।’ नार गाउँमा चिसोले ग्यास नबलेको र ४ वटा दाउराकै १ हजार ५ सय रुपैयाँ तिर्नुपरेको उनले बताए । उनका अनुसार निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक २ हजार ५ सय रुपैयाँ दिन्छ । कार्यालय सहयोगीले १ हजार २ सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको ६ सय पाउँछन् । ‘एक गिलास तातोपानीको १ सय रुपैयाँ पर्छ । सुगममा ६ सयले २ छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै गाह्रो,’ उनले भने ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मनाङमा २ सय कर्मचारी खटिएका छन् । सिंगो नार्पाभूमि गाउँपालिकामा ४ सय ६८ मतदाता छन् । नारगाउँअन्तर्गत वडा १ को वडा कार्यालय नार गाउँमा ९६, वडा २ को नार आधारभूत विद्यालयमा १ सय ३ र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा १ सय २० मतदाता छन् । फू गाउँअन्तर्गत वडा ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा ५ को कार्यालयमा ७१ जना मतदाता छन् । सिंगो मनाङ जिल्लामा पुरुष ३ हजार २ सय ८१ र महिला ३ हजार ४ सय ९८ गरी ६ हजार ७ सय ७९ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय