काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष साथै मानव अधिकारमैत्री बनाउन सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । आयोगले निर्वाचनको हालसम्मको अवधिमा गरेको अनुगमनमा दर्जनौं मानव अधिकार उल्लंघनका घटनाहरू घटेको जानकारी गराउँदै अब मतदान र मतगणनाका कार्यक्रमलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूणर्रुपमा सम्पन्न गर्न गराउन आग्रह गरेको हो ।
आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार आयोगले चुनावको प्रचार प्रसारको अवधिमा आयोगको उच्चस्तरीय अनुगमन टोलीसहित ३२ वटा टोलीले सातवटै प्रदेशका ६७ जिल्लामा पुगेर मतदानपूर्वको मानव अधिकार अवस्थाको अनुगमन गरेको थियो । त्यसक्रममा दर्जनौं जिल्लामा हिंसात्मक घटना भएको पाइएको आयोगले जनाएको छ ।
निर्वाचनपुर्वको अवधिमा बाँकेको नेपालगन्ज र भोजपुरमा बम विष्फोट हुँदा ३ जना घाइते, दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते, चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवार र कांग्रेसका उम्मेदवारको सवारी साधनमा आक्रमण गरिएको लगायतका हिंसात्मक प्रवृत्तिका घटना भएको आयोगले जनाएको छ ।
निर्वाचन प्रचारका क्रममा ठूला दलका उम्मेदवारहरूबाटै बालबालिका प्रयोग भएको छ । आयोगमा ७२ जिल्लामा ठूला दलका उम्मेदवारले नै निर्वाचन गतिविधिमा बालबालिकालाई प्रयोग गरेका १ सय ६५ वटा उजुरीहरू परेका छन् । यस्ता घटनाहरू दाङ, प्युठान, रसुवा, नुवाकोट, रामेछाप, डोटी र काठमाडौंलगायत जिल्लामा बढी छन् ।
त्यस्तै, बालबालिकाको प्रयोग गरी टिकटक बनाउने, प्रचार प्रसारको क्रममा नाचगानमा प्रयोग गर्ने, विद्यालयमा प्रचार सामग्री टाँस्न लगाउने जस्ता गतिविधि भएको आयोगले जनाएको छ । आयोगले कारागारमा रहेका धेरै कैदी बन्दीहरुको नाम मतदाता नामावलीमा समावेश नभएको अवस्था रहेको जनाएको छ ।
निर्वाचनमा असहमति र अवज्ञा जनाएका समूहका कार्यकताहरुले जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लामा स्थानीय नागरिकहरुलाई मतदान नगर्न दबाब दिँदै सभा तथा कार्यक्रमहरु गरिरहेको आयोगको अनुगमनबाट देखिएको छ । आयोगले निर्वाचनमा असहमति जनाएका समूहलाई पनि निर्वाचन विरोधी तथा हिंसात्मक गतिविधिहरु नगर्न, नगराउन आग्रह गरेको छ ।



