आइतबारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मौन अवधिमा पैसा बाँडेको आरोपमा नेकपा एमालेका नेता अमानसिंह तामाङका छोरा छत्रबहादुर पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा छत्रबहादुर चढेको गाडी रोकेर खानतलासी गर्दा उनको साथबाट पैसा र चेक भेटिएपछि केही स्थानीय युवाहरुले उनलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा चर्चामा छ ।

प्रहरीले चाहिँ उनले पैसा बाँडेको पुष्टि नभइसकेको बताएको छ ।

स्थानीय युवाहरुले चाहिँ उनले पैसा बाँड्दै गर्दा आफूहरुले उनलाई पछ्याएको बताएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अमानसिंह सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार हुन् । उनका छोराले पैसा बाँडेर मतदाता प्रभावित पार्न खोजेको आरोप लागेको हो ।

प्रहरीका अनुसार तामाङसहित शंकास्पद नगद एक लाख १४ हजार ९ सय ५० रुपैयाँ, आईसीएफसी फाइनान्सको दुई बण्डल चेक र बा २० च १४२८ नम्बरको स्कार्पियो गाडी घटनास्थलमा फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर