नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् ।

उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् । उनले नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए

मंगलबार अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए ।

उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए ।

‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वाभाविक रुपमा लिनुपर्छ । मैले यसलाई स्वाभाविक रुपमा लिएको छु ।’ उनले भने, ‘आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ । पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरुको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरुलाई बुझाउन सकिन्छ ।’

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश कांग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उहाँले सबै नेताहरुले सहयोगको वाचा गरेको बताए ।

महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए। न्युजएजेन्सी नेपालसँगको कुराकानीमा उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए ।

महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे ।

उनले, ‘निर्वाचन भर्खर सम्पन्न भएको छ । नेपाली कांग्रेसले नै यो संसदको निर्वाचनपछि देशको नेतृत्व दिने हो । त्यो नेतृत्वमा पनि केही नयाँ कुरा दिनसक्यौँ भने बल्ल यसले नागरिकहरुलाई आश्वस्त बनाउँछ । बाँधेर राख्छ, नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी जोडिँदैन । त्यसैले नेपाली काँग्रेस पार्टीले यो पटक आफ्नो नेतृत्वमा सरकार बन्दै गर्दा नयाँ नेतृत्व दिन सक्नुपर्छ ।’

महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छन् । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आउनुभएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताए ।

पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोइराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यति सहज भने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय