
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले हारको कारण पहिल्याउन सुरु गरेको छ । उसले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ ।
जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ । तर पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नै हार व्यहोरेका छन् ।
अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् । निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन यादवले निर्देशन दिएका छन् ।