वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा पुनः रोक लगाएको छ । मुख्यमन्त्री कार्यालयको पटक–पटकको हस्तक्षेपका कारण उक्त प्रणाली लागू हुन सकेको छैन । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी अनुमतिपत्रसम्बन्धी नयाँ प्रणाली आइतबारदेखि लागू गर्ने तयारी पूरा भइसकेका बेला मुख्यमन्त्री कार्यालयले शुक्रबार पत्र पठाएर यसलाई तत्काल लागू नगर्न भनेको छ ।

प्रदेश यातायात मन्त्रालयले अंक प्रणाली लागू गर्न निर्देशन जारी गरेलगत्तै मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजधानीमा लाइसेन्सको परीक्षा सञ्चालन गर्ने चारवटा यातायात कार्यालय प्रमुखलाई जावलाखेलस्थित सुशासन कार्यालयमा बोलाएर शुक्रबार अंक प्रणाली लागू नगर्न भनेका थिए । मन्त्रालयले भने सातबुँदे निर्देशनसहितको पत्र पठाएर यातायात कार्यालयलाई अंक प्रणाली मिलाउन भनेको भोलिपल्ट मुख्यमन्त्री कार्यालयले रोक्ने निर्देशन दिएको हो ।

मुख्यमन्त्री पाण्डेलाई भेट्न लाइसेन्सको परीक्षा सञ्चालन गर्दै आएको यातायात कार्यालय चाबहिल कार्यालयका प्रमुख विष्णुप्रसाद भट्टराई, ठूलोभर्‍याङका सञ्जय थापा, एकान्तकुनाका राजकुमार कपाली र राधेराधेका शिवकुमार निरौला जावलाखेल गएका थिए । ‘मुख्यमन्त्री कार्यालयबाट तारन्तार फोन आएपछि हामी जानैपर्‍यो,’ छलफलमा सहभागी एक कार्यालय प्रमुखले भने, ‘कसको कुरा मान्ने ? बीचमा पर्‍यौं ।’

मुख्यमन्त्रीले तत्काल अंक प्रणाली लागू नगर्ने भनेपछि आफूहरूले मान्नैपर्ने अवस्था सिर्जना भएको उनले बताए । उक्त प्रणाली लागू गर्न तयारी पूरा नभएको भन्दै कार्यालय प्रमुखलाई मुख्यमन्त्री पाण्डेले रोक्न निर्देशन दिएका थिए । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले भने चारवटा कार्यालय प्रमुखले माइन्युट नै गरेर तत्काल अंक प्रणाली लागू गर्न नसक्ने जानकारी गराएको दाबी गरे । तर मुख्यमन्त्रीलाई भेटेका एक कार्यालय प्रमुखले भने आफूहरूले लिखित रूपमा कुनै सुझाव नदिएको बताए ।

मुख्यमन्त्री पाण्डेले कार्यालय प्रमुखलाई भेटेको जानकारी पाएपछि प्रदेश यातायातमन्त्री घनश्याम दाहालले पनि उनीहरूलाई शुक्रबार सोह्रखुट्टेको एक होटलमा बोलाएर अंक प्रणाली लागू गर्ने कि नगर्ने भनी प्रश्न गरेका थिए । विभागीय मन्त्री र सचिवलाई बाइपास गरेकामा पनि मन्त्री दाहाल र यातायात सचिव सुरेश राउतले कार्यालय प्रमुखलाई सचेत गराएका थिए । कार्यालय प्रमुखहरूले भने आफूहरू चेपुवामा परेको जवाफ दिएको छलफलमा सहभागी एक अधिकारीले गुनासो गरे ।

ट्रायल सेन्टर सञ्चालकको दबाबका कारण मुख्यमन्त्री पाण्डेले लाइसेन्स परीक्षा लिने कार्यालयका प्रमुखलाई बोलाएर अंक प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएको स्रोतको दाबी छ । ट्रायल सेन्टरले आफूखुसी सेवाग्राहीबाट आर्थिक लाभ लिइरहेकाले नयाँ प्रणाली लागू गर्न अटेर गरेको प्रदेश यातायात मन्त्रालयका अधिकारी बताउँछन् । मुख्यमन्त्री कार्यालयको अवरोध भने यो दोस्रो पटक हो । गत असोज २ मा अंक प्रणाली लागू गर्न भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा उद्घाटनको तयारी सकिएपछि मुख्यमन्त्री कार्यालयले पत्र पठाएर रोकेको थियो ।

यस पटक पनि प्रदेश यातायातमन्त्री दाहालले आइतबार चाबहिल यातायात कार्यालयमा अंक प्रणाली उद्घाटन गर्ने कार्यक्रम तय गरेका थिए । दुई दिनअघि मुख्यमन्त्री कार्यालयले प्रदेश यातायात मन्त्रालयलाई पत्र पठाएर सवारी ट्रायलसम्बन्धी कार्यविधि तत्काल लागू नगर्न निर्देशन दिएको हो । यातायातमन्त्री अंक प्रणाली उद्घाटन गर्न काठमाडौं आइसकेका छन् ।

अंक प्रणाली प्रदेश १, गण्डकी र मधेस प्रदेशमा लागू भइसकेको छ । बाँकी स्थानमा तयारी गरिएको छ । तर वाग्मतीमा भने मुख्यमन्त्री कार्यालयले नै रोक्दै आएको छ । पाँच महिनाअघि प्रदेशका सबै यातायात कार्यालयमा प्रदेश यातायातमन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न खोज्दा पनि मुख्यमन्त्री कार्यालयले पटक–पटक अवरोध गर्नुले ट्रायल सेन्टरसँगको मिलेमतो रहेको स्रोतको दाबी छ । मुख्यमन्त्री पाण्डेको प्रतिक्रिया राख्न खोज्दा उनको मोबाइल उठेन । मोबाइल नम्बरमा म्यासेज गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रदेश यातायात मन्त्रालयले ट्रायल परीक्षामा सामान्य गल्ती भए अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू गर्ने जानकारीसहितको परिपत्र बिहीबार वाग्मती प्रदेशका सबै यातायात कार्यालयलाई गराइसकेको थियो । मुख्यमन्त्री कार्यालयको असहमतिका कारण अढाई महिनादेखि रोकिएको सवारी लाइसेन्सको ट्रायल किन रोकियो ? प्रस्ट जानकारी भने मुख्यमन्त्री कार्यालयले मन्त्रालयलाई दिएको छैन । मुख्यमन्त्री कार्यालयले पठाएको पत्रमा कर्मचारीलाई अभिमुखीकरण नगराइएको, आवश्यक पूर्वाधार तयार नगरेको, कोटा व्यवस्था नभएको, सेवाग्राहीलाई सुसूचित गर्ने काम नभएको र ट्रायल सेन्टरसँग समन्वय नगरेको उल्लेख छ ।

मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव निरौलाले पनि लाइसेन्सको परीक्षा सञ्चालन गर्ने कार्यालयहरूकै अनुरोधमा तत्कालका लागि अंक प्रणाली रोकिएको दाबी गरे । ‘मुख्य कुरा तयारी पूरा नभएरै हो । अरू केही होइन,’ उनले भने । लाइसेन्सको लिखित परीक्षामा भने हाल ५० अंक प्राप्त गरे हुनेमा प्रणाली लागू भएपछि ६० ल्याउनुपर्ने प्रावधान राखिएको छ । अहिले ट्रायल दिनेले पूर्णांक १०० अंक नै ल्याउनुपर्ने व्यवस्थालाई सहज बनाइएको यातायात मन्त्रालयका प्रवक्ता तथा उपसचिव हरिहर पोखरेलले बताए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय