विवेकशील साझा पार्टीको पहिलो महाअधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। पहिले पहिले जस्तो विवेकशील साझामा नेतृत्वको निम्ति जुँगाको लडाइँ देखिदैन यद्यपि अध्यक्ष समीक्षा बास्कोटा र विवेकशील तर्फबाट सह अध्यक्षको रुपमा आएका मिलन पाण्डे अध्यक्षको दावेदार हुनसक्ने स्रोतले जनाएको छ। उक्त पार्टीले अवलम्बन गर्ने नीतिको बिषयमा स्पष्टता हुनसकेको छैन।
विवेकशील नेपाली दलको अध्यक्षमा नउठ्ने संस्थापक स्व. उज्ज्वल थापाको निर्णय पश्चात विवेकशील नेपाली दलको जनकपुरमा भएको महाधिवेशनमा शिव थापा लाइ हराउदै पाण्डे अध्यक्ष निर्वाचित भएका थिए तर निर्वाचित हुनको निम्ति प्रत्यक्ष र अनलाइन मत प्रक्रिया राखिएको हुदाँ अनलाइन मत प्रक्रियामा अध्यक्ष उम्मेदवार मिलन पाण्डे, महासचिवका उम्मेदवार निर्देश शिलवाल लगायतले किर्ते गरि जितेको आरोप सदस्यहरुले लगाएका थिए ।
उक्त आरोप प्रमाणित गर्न एकैजनाले ४२ जनाभन्दा बढीको नागरिकता प्रयोग गरि भोटिंग गरेको भन्ने किसिमको म्यासेजमा कुरा गरेको स्क्रिनसट निर्वाचन आयोगमा प्रस्तुत गरेपनि दलका निर्वाचन आयुक्त पवन गौतमले त्यसलाई ठाडै नकार्दै सदस्यहरुलाई उक्त आरोप प्रमाणित गर्न चुनौती दिएका थिए ।
त्यसो त पाण्डेमाथि पहिला पनि दलको न्यायपालिका विभागमा भूकम्पको बेला राहतको निम्ति सामान खरिद गर्दा २२ बोरा चामलको मुल्यमा अनियमितता गरेको आरोप लागेको थियो साथै आरोप प्रमाणित नभएपनि उनलाई न्यायपालिकाले ६ महिनाको निम्ति सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको थियो तर छ महिना बित्न ४ दिन बाँकी रहदै साझा पार्टी सँग पहिलोपटक एकीकरण गर्दा उनलाई जिम्मेवारी दिइएको थियो।
जनकपुर सम्मेलन बाट पाण्डे अध्यक्ष निर्वाचित भएपछी पुन: रविन्द्र मिश्र पक्ष सुध्रिएको भन्दै पार्टी एकीकरण गरिएको थियो, उक्त एकीकरणमा जनकपुर सम्मेलनमा महासचिवकी उम्मेदवार कर्मा लामा तामाङको नेतृत्वमा लगभग ४७ प्रतिसत सदस्यहरु मिलेर नेपाल विवेकशील साझामा नगई नेपाल विवेकशील पार्टी स्थापना गरेका छन् ।