सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्तोस एभिएरो हो । उनी सात वर्षको उमेरमै फुटबल खेल्न क्लबमा आबद्ध भएका थिए । सन् १९९२ देखि १९९५ सम्म उनले पोर्चुगलको एन्दोरिन्हामा रहेर खेले । त्यसपछिका दुई वर्ष नासियोनल र सन् १९९७ देखि २००२ सम्म स्पोर्टिङ सीपीसँग आबद्ध भएर खेलेका थिए ।

सन् २००३ देखि इङ्गल्यान्ड लागेका उनी म्यानचेस्टर युनाइटेडबाट सन् २००९ सम्म खेल्दै १९६ खेलमा ८४ गोल गरे भने सन् २००९ देखि २०१८ सम्म स्पेनी लिगको क्लब रियल म्याड्रिबाट २९२ खेल खेल्दै ३११ गोल गरेका थिए । सन् २०१८ देखि २०२१ सम्म उनले इटालीको युभेन्टसबाट खेले, जहाँ ९८ खेल खेलेर उनले ८१ गोल गरेका थिए त्यसपछि रोनाल्डो पुनः म्यान्चेस्टर युनाइटेडसँग अबद्ध भए । हाल अल नासर पुगेका रोनाल्डोले त्यहाँ गोलको खाता खोलिसकेका छन् ।

पोर्चुगलका लागि रोनाल्डोले सन् २००१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनले यू–१५ बाट नौ खेल खेलेर सात गोल गरे त्यसैगरी यू–१७ बाट सात खेलमा पाँच गोल तथा यू–२० मा पाँच खेलबाट एक गोल उनीबाट भएको थियो । उनले यू–२१ र यू–२३ बाट समेत खेल खेलेका थिए साथै सिनियर राष्ट्रिय टिमका लागि १९६ खेल खेलेर रोनाल्डोले ११८ गोल गरेका छन् ।

क्लब र देशका लागि उपाधि

सन् २००२ मै स्पोर्टिङ सीपीलाई सुपरटाका क्यान्डिडो डे ओलिभिएरा उपाधि दिलाएका उनले म्यानचेस्टर युनाइटेडलाई तीन प्रिमियर लिग, एक एफए कप, दुई लिग कप, दुई कम्युनिटी कप, एक च्याम्पियन्स लिग र एक क्लब वल्र्ड कपको उपाधि जितमा योगदान गरेका थिए ।

रियल म्याड्रिडमा रहँदा उनले दुई ला लिगा, दुई कोपा डेल रे, चार च्याम्पियन्स लिग, तीन सुपर कप र तीन क्लब वल्र्ड कप जिते । त्यस्तै युभेन्टसलाई दुई सिरी ए, एक कोपा इटालिया र दुई सुपरकोप्पा इटालियाना जितमा उनले सहयोग गरे ।

राष्ट्रिय टिमका लागि उनले सन् २००३ मा टुलोन टुर्नामेन्ट, सन् २०१६ मा युरोपियन च्याम्पियनसिप र सन् २०१८–१९ मा नेसन्स लिग जितेका थिए त्यस्तै व्यक्तिगत उपाधि रोनाल्डोले फिफा बालोन डि’ओर पाँच पटक जितेका छन् । उनले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा उक्त उपाधि जितेका हुन् । उनले सन् २००८ मा फिफा विश्व खेलाडीको उपाधि जितेका थिए । सन् २०१६ र २०१७ मा उनले फिफाको उत्कृष्ट पुरुष खेलाडीको उपाधिसमेत हात पारे ।

रोनाल्डोले सन् २०२१ मा फिफाबाट आउटस्ट्यान्डिङ करिअर अचिभमेन्ट अवार्ड जितेका थिए । उनले सन् २०१६ मा फिफा क्लब वल्र्ड कप गोल्डेन बल पनि प्राप्त गरे । चार पटक युरोपियन गोल्डेन बुट पनि रोनाल्डोले हासिल गरेका थिए । उनले सन् २००४, २०१२ र २०१६ मा युरोपियन च्याम्पियनसिप टिम अफ द टुर्नामेन्टसमेत जिते ।

उनी सन् २०१६, २०१७, २०१८, २०१९ र २०२२ गरी पाँच पटक पोर्चुगलका वर्ष खेलाडी घोषित भएका थिए ।उनी दयाभावका खेलाडी पनि हुन् । थुप्रै परोपकारी संस्थामार्फत सहयोग पनि गरिरहेका छन् । भूकम्प पीडितदेखि क्यान्सर पीडितसम्मलाई उनले सहयोग गरेका छन् ।

गोरखापत्र अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय