प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।
उपराष्ट्रपतिको चुनाव सकिएपछि विश्वासको मत लिन तयार रहेको उनले जनकारी दिए।
प्रतिनिधिसभाको बैठक चैत ५ गते राखिएको छ। त्यस बैठकसँगै विश्वासको मत लिने मितिबारे टुङ्गो लगाउने उनको भनाइ छ।
प्रधानमन्त्रीमा माधव नेपालको पालो?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतका अनुसार मन्त्रिपरिषद् विस्तार गर्दा नै प्रधानमन्त्रीमा आलोपालो लगायतका विषयमा छलफल हुनेछ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने क्रममा प्रधानमन्त्रीमा आलोपालो गर्ने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अवसर दिने समझदारी भएको विवरणहरू आएका थिए।
माओवादी नेता गजुरेलका अनुसार माधव नेपाललाई पनि प्रधानमन्त्री दिनुपर्छ भन्नेमा समझदारी छ तर कसले कति चलाउने भन्नेबारे कुराकानी भएको छैन।
उनले भने, “परिस्थिति अलिकति बदलिएको छ, कस्तो हुन्छ अहिले नै भन्न सकिन्न।”
एकीकृत समाजवादी नेता तुलाधरका भनाइमा उनको दलले पनि आलोपालोमा दाबी प्रस्तुत गरेको छ।
उनले भने, “उहाँहरू सकारात्मक हुनुहुन्छ, तर अप्रत्याशित खालको फेरबदल आएन भने तीन दलका तीन नेता प्रधानमन्त्री बन्ने अवस्था नै हुन्छ होला।”
बिबिसी मा छापिएको खबरमा आधारित