
स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउने भन्दै नेपाली कांग्रेसका विद्रोही नेता जगन्नाथ पौडेलले चितवन–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्ने भएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले भनेका छन, ‘यहाँ सबैको हात बाँधिएका छन् । तर म स्वतन्त्रता प्रेमी व्यक्ति भएकोले लामो समय आन्दोलनमै बित्यो । अब छोटो समयमा गर्नुपर्ने रूपान्तरणका लागि स्वतन्त्र पार्टीलाई सहयोग गर्दा देशले निकास पाउँछ ।’
उक्त क्षेत्रमा गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।