नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।
दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए ।

बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए ।

‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ’, उनले भने, ‘तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन ।
अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।

नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्योे भन्ने महसुस गराउन सक्नुपर्ने बताए ।
यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको उनको गुनासो छ ।

यसका लागि राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनले बताए ।

‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२/१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं । विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउँछ ।’

‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ ।
फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, कांग्रेस महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन ।

३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो । नराम्रो अर्थमा होइन । हामी छौं नि फुर्सदमा ।’

प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय