वैशाख १० गते सम्पन्न उपनिर्वाचनले नेपाली कांग्रेसलाई नराम्रो झड्का दिएको छ ।
मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी भएको कांग्रेस उपनिर्वाचनसम्म आइपुग्दा पराजित हुन पुग्यो । कांग्रेस पराजित मात्रै भएन, उसको मतसमेत घटेको छ ।
मंसिर ४ को निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन गठबन्धनको बलमा २५ हजार ३६१ मतका साथ विजयी भएका थिए ।
यो निर्वाचनमा पनि गठबन्धन कायमै रहेपनि कांग्रेसले आफ्नो मत जोगाउन सकेन।
पौडेल राष्ट्रपति चयन भएपछि सांसद पद रिक्त हुँदा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा तनहुँकै पुराना नेता गोविन्द भट्टराईलाई कांग्रेसले उतारेपनि उनको पक्षमा नतिजा आउन सकेन ।
परिवर्तनको पक्षमा भन्दै जनताले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत हाल्दा नतिजा अर्कै बन्न पुग्यो ।
निर्वाचनमा रास्वपाका उम्मेदवार वाग्ले ३४ हजार ९१९ मतका साथ विजयी भएका हुन् । जवकि मंसिर ४ मा रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मतमात्रै पाएका थिए । यो आधारमा रास्वपाले २८ हजार ८७५ मत बढाएको छ ।
तर, गोविन्दले २० हजार १२२ मत मात्रै पाए । यो आधारमा अघिल्लो चुनावको तुलनामा उपनिर्वाचनमा कांग्रेसको ५ हजार २३९ मत घटेको छ ।



