नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ ।
बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
लन्डनस्थिन नेपाली दूतावासका अनुसार बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका छन् । दुई देशबीच पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठकमा दुई शताब्दी पुरानो मित्रता र सहयोगबारे विचार आदानप्रदान भएको जनाइएको छ । दुई देशबीच विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर र जनस्तरको द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा पनि बैठकमा भएको थियो ।
‘ब्रिटिस गोर्खा मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चहरूमा पारस्परिक हितका एजेन्डामा मिलेर काम गर्ने विषयमा छलफल भएको छ । भूतपूर्व गोरखाका विषयमा भइरहेको वार्ताको समीक्षा भएको छ ।
उनीहरूको विषय सम्बोधनका लागि छलफल जारी राख्ने सहमति भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको विदेश, कमनवेल्थ तथा विकाससम्बन्धी विभागका स्थायी उपसचिव सर फिलिप बार्टनले बेलायती प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।