अब अर्को फोन अर्थात् सेकेन्डरी फोनमा पनि ह्वाट्सएप अकाउन्ट चलाउने सुविधा चाँडै सुरु हुन लागेको छ ।
धेरै पटक प्रयोगकर्ताहरूले मुख्य ह्वाट्सएप अकाउन्ट अन्य कुनै फोनमा पनि चलाउन सकियोस्, भन्ने चाहने गर्दछन् किनकि धेरै व्यक्तिहरूले दुईवटा फोन राख्ने गर्दछन् र दुबैमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न चाहन्छन् ।
प्रयोगकर्ताको यो समस्या छिट्टै अन्त्य हुँदैछ । कम्पनीले आगामी दिनमा सबै प्रयोगकर्ताका लागि धेरै ओटा डिभाइसमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सक्ने सुविधा उपलब्ध गराउने भएको छ ।
ह्वाट्सएप प्रयोगकर्ताहरूले लामो समयदेखि कम्पनीलाई धेरै उपकरणहरूमा एउटै खाता चलाउन अनुमति दिन अनुरोध गर्दै आएका छन् । यसलाई ध्यानमा राख्दै, अब मेसेजिङ एपले चाँडै यो सुविधा रोल आउट गर्ने तयारी गरेको छ, त्यसपछि तपाईले आफ्नो एउटै खाता धेरै डिभाइसहरूमा चलाउन सक्नुहुनेछ ।
कम्पनीले एक ब्लग पोस्ट मार्फत यसको जानकारी सार्वजनिक गरेको हो । प्रयोगकर्ताहरूले सुरक्षामा सम्झौता नगरी चाँडै आफ्नो सन्देश, फोटो, भिडियोहरू अन्य उपकरणहरूमा पनि पहुँच गर्न सक्षम हुनेछन् ।
तपाईले आफ्नो एउटै खाता चार फरक स्मार्टफोनमा प्रयोग गर्न सक्नुहुनेछ । प्राथमिक अकाउन्ट प्रमाणीकरणकालागि मात्र प्रयोग गरिनेछ । ह्वाट्सएपको वेब भर्सन प्रयोग गर्नका लागि जसरी क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ, त्यसैगरी अन्य स्मार्टफोनमा पनि अकाउन्ट खोल्न सकिने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ओटिपीमा आधारित प्रमाणीकरण प्रणाली पनि तयार गरिरहेको जनाएको छ ।
यदि प्राइमरी फोन केही समयको लागि निष्क्रिय भएमा अन्य डिभाइसबाट ह्वाट्सएप अकाउन्ट स्वतः साइन आउट हुने कम्पनीले जनाएको छ ।