काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षदेखि आफ्नाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ‘पेन्डिङ’ मा रहेकाे गुनासाे गर्नुभएकाे छ ।

बिहीवार काठमाण्डाैमा आर्थिक पत्रकार सङ्घ नाफिजद्वारा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी : सजेसन्स फर पोलेसी एन्ड बजेट २०८०/८१’ विषयक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले आफ्नो लाइसेन्स प्रक्रियाको क्रममा रहेको भन्दै यातायात क्षेत्रका विसङ्गति सुधार गर्न आफू लागिपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यातायात क्षेत्रमा केही विसङ्गति, विकृति, समस्या र जटिलताहरू छन् । जस्तो कि लाइसेन्सकै कुरा छन् । छ महिना, आठ महिनादेखि लाइसेन्स नपाएका पनि छन् । अहिलेसम्म मेरै लाइसेन्स आएको छैन, एक वर्ष भइसकेको छ । यातायातका कर्मचारीले मन्त्रीज्यूको बनाइदिनुपर्छ कि भन्दै हुनुहुन्थ्यो । मैले अहिले मेरो बनाउन परेन, जुन दिन मेरो लाइन हो, त्यही दिन लिउँला भनेँ ।’

कार्यक्रममा बाेल्दै मन्त्री ज्वालाले वर्तमान सरकार बजेट बनाउने चपेटामा रहेको बताउनुभयाे । उहाँले आर्थिक अवस्था राम्रो भएमात्रै बजेट राम्रो आउने बताउनुभयो । मन्त्री ज्वालाले देशको वर्तमान आर्थिक अवस्था अत्यन्त समस्याग्रस्त रहेको दाबी गर्नुभयो । उहाँले भौतिक मन्त्रालयको बजेट कटाैती गरेर अर्थ मन्त्रालयले एक खर्ब १३ अर्ब रुपैयाँको मात्रै सिलिङ दिएको गुनासो गर्नुभयो । उहाँले चालु आर्थिक वर्ष र आउँदाे आर्थिक वर्षको मन्त्रालयको बजेटमा आकाश र पातालको फरक भएको भन्दै ठूला गौरवका आयोजनामा ५० प्रतिशत बजेट घटाउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले सरकारको आउँदाे नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गाडीलाई विद्युतीयतर्फ लैजान प्राथमिकता दिने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल बिजुली निर्यात गर्ने अवस्थामा पुग्न सक्छ । नेपालमा उत्पादन भएको विद्युतीय गाडी सञ्चालन गर्न सरकारले प्राथमिता दिन्छ । त्यसैले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा याे विषयलाई प्राथमिकताका साथ राख्ने प्रतिबद्धता छ । अहिले सरकार बजेट बनाउने र आर्थिक चपेटामा छ ।’

कार्यक्रममा नेपाल अटो मोबाइल्स एसाेसिएशन अफ नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले उचित किसिमको सहुलित तथा अनुदान नीति नल्याएसम्म विद्युतीय गाडी आउन नसक्ने बताउनुभयो । उहाँले पछिल्लो समय निजी प्रयोगका लागि विद्युतीय गाडी बढ्दै गए पनि सरकारले उचित नीति नबनाउँदा ठूला सार्वजनिक गाडी बढ्न नसकको बताउनुभयो ।

त्यस्तै आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय गाडीमा बजेटले तोके बमोजिमको कर लिइरहेको बताउनुभयो । उहाँले सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय गाडीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय