प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युलेन्स स्कुललाई कर छुट दिएको विषयमा संसद्मा स्पष्ट जवाफ दिन सकेनन् । संसद्मा सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा उनले युलेन्स स्कुल जोडिएको प्रश्नको जवाफ नदिएका हुन् ।

बिहिबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राखिएको थियो । यो संसद्को पहिलो प्रश्नोत्तरमा २० सांसदले प्रश्न सोधेका थिए । त्यो मध्येको एउटा प्रश्न थियो– डा अमरेशकुमार सिंहको ।

“एउटा कागजात बाहिरिएको छ । जसमा नेपालको सबैभन्दा महँगो ललितपुरको युलेन्स स्कुललाई आयकर छुट दिइएको छ । गरिबका छोराछोरी छात्रवृत्तिमा पढ्ने बूढानीलकण्ठ स्कुललाई आयकर लगाइएको छ,” अमरेशले सोधेका छन्, “प्रधानमन्त्रीज्यू, यस्तो तन्त्र कहिलेसम्म रहन्छ ?”

यो प्रश्नमा प्रधानमन्त्रीले ठोस जवाफ दिएनन् ।

मरेशले राखेको वाइडबडी, पोखरा विमानस्थल, नेपाल ट्रस्टको जग्गा लिजमा दिने (यती) प्रकरण, आयल निगमको जग्गा काण्डसहितका भ्रष्टाचारका विषयमा यसअघि नै उत्तर दिइसकेको बताए भने युलेन्स स्कुलको नाम नै नलिएर ध्यानाकर्षण भएको जवाफ दिए ।

“यी प्रश्नको उत्तर अघिल्ला प्रश्नमा दिइसकेको छु । भ्रष्टाचारका काण्डहरुको छानबिन अघि बढाउने कुरामा सरकार लागिरहेको छ,” अमरेशले युलेन्स स्कुलका विषयमा उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, “तपाईँले ध्यानाकर्षण गराउनुभएको छ । ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु ।”

युलेन्स स्कुलमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा अध्यक्ष छिन् । वर्तमान सरकारको अंकगणितमा मुख्य भूमिका रहेको कांग्रेस सभापतिपत्नी राणासँग जोडिएको विषयमा प्रधानमन्त्रीले सिधा जवाफ नदिएर प्रश्न पन्छाइदिएका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय