सन्तोष अधिकारी

झापा । स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन्छ कि हुँदैन भन्ने संसयलाई चिर्दै १४ असार २०७४ मा निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचन पनि यस्तै संसयकै बीचबाट ३१ वैशाख २०७४ मा सम्पन्न भएको थियो । अब तेस्रो चरणको निर्वाचनका बारेमा पनि यस्ता चर्चा हुन थालेका छन् । जे होस् जसरी होस्, निर्वाचन भयो र अब पनि हुन्छ भन्ने विश्वास जागेको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भई परिणाम पनि सार्वजनिक भइसकेको छ । देशभरका कूल ७४४ स्थानीय तहमध्ये दुई चरणमा गरेर ६१७ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो चरणमा प्रदेश नम्बर ४, ५ र ६ अनि दोस्रो चरणमा प्रदेश नम्बर १, ३ र ७ का स्थानीय तहमा निर्वाचन सम्पन्न भएको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल प्रारम्भ भइसकेको छ ।

प्रदेश नम्बर २ को ८ जिल्लाका १२७ स्थानीय तहको भने तेस्रो चरणमा निर्वाचन गरिने भएको छ । यसका लागि सरकारले असोज २ गतेको मिति निर्धारण गरिसकेको छ । मधेश केन्द्रित दलहरुका माग सम्बोधनको विषय नटुंगिएकाले प्रदेश नम्बर दुईको निर्वाचन तेस्रो चरणका लागि धकेलिएको हो । यस बीचमा मधेश केन्द्रित दलका मागहरुको सम्बोधन हुने र उनीहरु पनि निर्वाचनमा सहभागी हुने सरकारको विश्वास छ । तर पछिल्लो कालखण्डमा आएर राष्ट्रिय जनता पार्टी निर्वाचनको विपक्षमा नै रहिरहेको संकेतहरु पनि देखिन थालेका छन् ।

गणतन्त्र स्थापना पछि मुलुकलाई नयाँ ढंगले पुनःसंरचना गर्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएको हो । यो निर्वाचनबाट सिंहदरबारका अधिकार गाउँ–नगरमा आएको चर्चा पनि हुने गरेको छ । लामो समय पछि जनताका प्रतिनिधि स्थानीय तहमा पुगेकाले जनताका अपेक्षाहरु पनि धेरै चुलिएका छन् । विकास र समृद्धिको सपना बोकेर स्थानीय तकको नेतृत्व गर्न पुगेका जनताका प्रतिनिधिहरुले आफ्नो जिम्मेवारी सुरु गरिसकेका छन् । जनताका प्रतिनिधिहरु प्राप्त ‘म्यान्डेड’अनुसार स्थानीय तहको कार्यकक्षमा प्रवेश गर्दैगर्दा आगामी दिनका लागि राजनीतिक दलहरुलाई भने यो निर्वाचनले नयाँ दिशानिर्देश गरेको छ ।

दोस्रो चरणमा सम्पन्न निर्वाचन अन्तरगत प्रदेश नम्बर एकको परिणामलाई तथ्याङ्कका आधारमा विश्लेषण गर्ने हो भने यो प्रदेशमा नेकपा एमाले पहिलो दल भएको छ । हुन त पहिलो र दोस्रो दुवै चरणको निर्वाचनमा नेकपा एमालेले आफूलाई देशैभरि पहिलो दलको रुपमा स्थापित गर्न सफल भएको छ । प्रमुख प्रतिपक्षको भूमिकामा रहेका बेला एमालेले प्राप्त गरेको यो सफलता अर्थपूर्ण मानिन्छ । यसै सन्दर्भमा यो निर्वाचनमा प्रदेश नम्बर एकमा प्राप्त जनादेशलाई संक्षिप्तमा यहाँ विश्लेषण गर्न खोजिएको छ ।

प्रदेश नम्बर एक अन्तगर निर्वाचनमा प्राप्त गरेको समग्र मत, जितेको सिट संख्या, प्रतिस्पर्धाको अवस्था लगायतको तथ्याङ्कलाई तल उल्लेखित चित्रमा देखाउने प्रयास गरिएको छ ।


माओवादी यसपटक पनि तेस्रो मै सिमित 

संविधानसभा निर्वाचन २०७० को मत परिणामले तत्कालिन पहिलो दलका रुपमा रहेको माओवादीलाई तेस्रो स्थानमा सिमित गरेको थियो । संघीय संरचना लगायतका एजेण्डाहरु आफ्नो एजेण्डा भएको दाबी गर्ने माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आफ्नो अवस्थालाई सुधार गर्ने बताएको थियो । तर परिणामले उसलाई तेस्रोमै चित्त बुझाउन सुझाएको छ ।

देशव्यापीरुपमा तेस्रो बनेको माओवादी केन्द्र प्रदेश नम्बर १ मा पनि तेस्रो स्थानमै छ । जनादेशले नेकपा एमालेलाई पहिलो, नेपाली काँग्रेसलाई दोस्रो र माआवोदी केन्द्रलाई तेस्रो हैसियत कायम गराइदिएको हो ।

संविधानसभा निर्वाचन २०७० को प्राप्त मतलाई विश्लेषण गर्ने हो भने पनि प्रदेश नम्बर १ मा एमालेले पहिलो स्थान नै कायम गरेको थियो । उसले प्रदेश नम्बर १ का १४ जिल्लाबाट कूल ४ लाख ६३ हजार ९९ मत प्राप्त गरेको देखिन्छ । त्यसैगरी, नेपाली कांग्रेसले ४ लाख ४६ हजार ४९१ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेको थियो भने तत्कालिन एकीकृत माओवादीले २ लाख १६ हजार ९१८ मत प्राप्त गरेर तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । स्थानीय तहको निर्वाचन परिणामले पनि यी तीनै दलको विगतको हैसियतलाई कायम गरेको देखिन्छ । (हेर्नुस् टेवल नं.१) ।

संविधानसभा निर्वाचन २०७० मा यी दलले प्राप्त गरेको मत परिणाम र हाल प्राप्त गरको मत परिणामलाई विश्लेषण गर्ने हो भने तीनै दलले मत वृद्धि गरेका छन् । (हेर्नुस टेवल नम्बर १) । प्रदेश नम्बर १ मा कूल सदर मतको झण्डै ७५ प्रतिशत मत दुई ठूला दल एमाले र कांग्रेसले प्राप्त गरेको देखिन्छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले जम्मा १३ दशमलव ६४ प्रतिशत मत प्राप्त गरेको छ भने पहिलो दल बनेको एमालेले ३८ दशमलव ३२ र दोस्रो बनेको कांग्रेसले ३६ दशमलव ४१ प्रतिशत मत प्राप्त गरेको देखिन्छ ।

यो निर्वाचनको प्रतिस्पर्धामा एमाले र कांग्रेसको प्रतिद्वन्दिता कडा देखिन्छ भने माओवादी यो प्रतिस्पर्धामा धेरै पछाडि छाडिएको छ । एमाले कांग्रेसभन्दा माओवादी केन्द्र जति पछि देखिन्छ, चौथो बनेको दल संघीय समाजवादी फोरम पनि माओवादी केन्द्रसँग उत्तिनै डिस्टेन्समा धकेलिएको छ । संघीय समाजवादी फोरमले जम्मा २ दशमलव ५९ प्रतिशत मत प्राप्त गरेर चौथो स्थान सुरक्षित गरेको छ । प्रदेशस्तरमा पाँचौ स्थानमा देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ दशमलव ५७ र छैटौं बनेको लोकतान्त्रिक फोरमले १ दशमलव ७२ प्रतिशत मत पाएका छन् ।

‘थ्रेसहोल्ड’ थ्रेट

स्थानीय तहमा दलहरुले प्राप्त गरेको मत परिणामलाई विश्लेषण गर्दा अबको संसदीय निर्वाचनमा तीन दल बाहेक अरुलाई संसदमा ‘नो इन्ट्री’ हुने सम्भावना देखिन्छ । संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघको चुनाव भइसक्नुपर्ने छ । आसन्न यी दुई चुनावमध्ये संघको निर्वाचनमा एमाले, कांग्रेस र माओवादी बाहेक अन्य सबै दललाई ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ ले रोक्ने देखिन्छ ।

तर प्रदेशको निर्वाचनका लागि १ दशमलव ५ प्रतिशतको ‘थ्रेसहोल्ड’ राख्ने तयारी भइरहेकाले प्रदेशमा जान भने यो निर्वाचनमा छैटौं दलको हैसियत बनाएकासम्मले प्रवेश पाउने अवस्था बन्न सक्छ । आसन्न निर्वाचनसम्ममा केही दलहरुले आफ्नो अवस्थालाई सुधार्न सकेनन् भने उनले ‘थ्रेसहोल्ड’बाट बच्न नै संघर्ष गर्नुपर्ने संकेत १ नम्बर प्रदेशको जनमतले देखाएको छ ।

संघमा समानुपातिक सिट प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तीमा १ सिट र समानुपातिकमा कूल खसेको मतको ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपि त्यो समग्र देशभरबाट प्राप्त मतमा निर्भर हुन्छ । बाँकी प्रदेशले यो क्षतिलाई परिपूर्ति गर्ने सम्भावना भने रहन्छ । तर पनि १ नम्बर प्रदेशबाट ३ दलबाहेक अन्यलाई ‘थ्रेसहोल्ड’ बाट बचाउने मत प्राप्त भएको देखिएन । प्रदेशमा १ दशमलव ५ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । जसमा संघीय समाजवादी, राप्रपा र लोकतान्त्रिक फोरम बल्लतल्ल अस्तित्व बचाउन सफल हुने देखिएको छ । यद्यपि केही तहमा भने यी दलहरुले अध्यक्ष र प्रमुख छाडेर अन्य दलसँग तालमेल गरेका छन् ।
मुख्य टक्कर एमाले र कांग्रेसबीच नै

प्रदेश नम्बर एक अन्तरगतका १४ जिल्लाका १३७ स्थानीय तहमा मुख्य प्रतिष्पर्धा नेकपा एमाले र नेपाली कांग्रेसकै बीचमा भएको तथ्याङ्कले देखाउँछ । (हेर्नुस् ग्राफ)

प्रदेश नम्बर १ को चुनावी प्रतिस्पर्धामा एमाले र कांग्रेसकै मुख्य टक्कर भएको छ । उसले ६९ स्थानमा जीत हात पार्दा ५२ स्थानमा विजयी प्रतिष्पर्धी उम्मेदवारलाई कडा टक्कर दिएको छ । यस्तै कांग्रेसले ५१ स्थानमा जीत निकाल्दा ६७ स्थानमा विजयी उम्मेदवारलाई चुनौती दिएको देखियो । यसबाट के प्रष्ट हुन्छ भने प्रदेश नम्बर १ मा मूख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमाले र नेपाली कांग्रेस नै उभिएका छन् ।

कांग्रेस र एमालेले १ र १ स्थानीय तहमा प्रमुख पद अन्य दलसँग तालमेल गरेका थिए । कांग्रेसले भोजपुरको ट्याम्केमैयुम गाउँपालिकामा संघीय समाजवादीसँग र एमालेले पाँचथरको तुम्मेवा गाउँपालिकामा माओवादी केन्द्रसँग तामेल गरी चुनाव लडेका थिए ।

एमाले र कांग्रेस बाहेकका दलहरुले धेरै स्थानीय तहमा अध्यक्ष र प्रमुख छाडेर चुनावी तालमेल गरेका थिए । जसमा माओवादी केन्द्रले ११ स्थानमा अध्यक्ष तथा प्रमुख छाडेको थियो । केही स्थानमा अध्यक्ष लिएर पनि तालमेल गरेकाले पाएको मतलाई उनीहरुले पाउने वास्तविक मतकै हाराहारीमा मान्न सकिन्छ ।

प्रदेश नम्बर १ मा तेस्रो बनेको माओवादी केन्द्रले ९ स्थानमा जीत हात पार्दा ११ स्थानमा मात्रै निकटतम् प्रतिद्वन्द्वी भएर प्रतिस्पर्धा गरेको थियो । यस्तै ३ स्थानमा जितेको लोकतान्त्रिक फोरमले २ स्थानमा प्रतिस्पर्धा गरेको थियो भने ३ स्थान नै जितेको राप्रपाले १ स्थानमा प्रतिस्पर्धा गरेको थियो ।

दुई स्थान जितेको संघीय समाजवादी फोरमले ३ स्थानमा निकटतम् प्रतिद्वन्द्वी भएर विजयी उम्मेदवारलाई नजिकबाट चुनौती दिएको छ । बाँकी १ स्थानमा यी दलबाहिरका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी बने । यसले के देखाउँछ  भने एमाले र कांग्रेस बाहेकका अन्य दलले जीतमात्रै हात नपारेका होइनन्, प्रतिस्पर्धा मै कमजोर सावित भएका छन् ।

शून्य मतका उम्मेदवार पनि भेटियो 

भनिन्छ, निर्वाचन जित्नकै लागि लडिन्छ । निर्वाचन जित्नका लागि उम्मेदवार बनेका व्यक्तिले साम, दाम, दण्ड, भेद प्रयोग गर्छन र जसरी पनि विजय हासिल गरिछाड्छन् । हामीले देखेको र भोगिरहेका निर्वाचनमा पनि यस्तो हुने गरेको छ ।

तर यसपटको निर्वाचनमा प्रदेश नम्बर १ का केही उम्मेदवारहरुले शून्य मत पाएका छन् । एक नम्बर प्रदेशको १३७ स्थानीय तहमा अध्यक्ष र प्रमुखमा गरी ९२० जनाको उम्मेदवारी परेकोमा ३३ जना उम्मेदवारले भने एक मत पनि पाएनन् । १७ प्रमुख र १६ अध्यक्ष पदका उम्मेदवार बनेका उनीहरुले आफैंलाई भोट हालेनन् वा मत नै हाल्न जानेनन् वा बदर भयो ? त्यो भने खुल्न बाँकी नै छ । यसरी १ भोट पनि नपाउने ३३ मध्ये ३२ जना स्वतन्त्र र १ जना नेपाल मजदूर किसान पार्टीका उम्मेदवार हुन् ।

झापामा एमालेकै बर्चस्व, राप्रपा तस्रो शक्ति  

१४ आसर २०७४ मा दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । झापामा कूल मतदाता संख्या ५ लाख १० हजार २१६ मध्ये ७३ दशमलव ७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । झापाका १५ स्थानीय तहको ६८५ सिटका लागि ३ हजार ३३६ जना चुनावी मैदानमा थिए ।

१४ असारमा सम्पन्न मतदान र असार मसान्तसम्ममा घोषित परिणामबाट १५ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले काम थालिसकेका छन् । स्थानीय तहको नयाँ व्यवस्थापन भएअनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका निर्माण पनि भएको छ । हिजो साउन ३० गतेमात्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको । जिल्लाभरबाट चुनिएका प्रतिनिधिहरुको संख्याका आधारमा एमालेले एकलरुपमा जिल्ला समन्वय समिति निर्माण गरेको छ ।

कूल प्रतिनिधि संख्याको दुई तिहाईभन्दा बढी अर्थात् करिब ६७ प्रतिशत जनप्रतिनिधि एमालेले जीत हात पारेको छ । ६८५ सिटमध्ये एमालेले ७ प्रमुखसहित ४६१ जना, नेपाली कांग्रेसले ५ प्रमुखसहित १६३ जना, राप्रपाले ३ प्रमुखसहित ३४ जना र माओवादी केन्द्रले २२ सिट हासिल गरेको छ भने बाँकी १५ सिट अन्य दलले प्राप्त गरेका छन् ।

मुलुकको समग्र परिणाममा तेस्रो स्थान प्राप्त गरेको माओवादी केन्द्रले झापामा भने चौथो स्थानमा चित्त बुझाउनु परेको छ । झापामा तेस्रो शक्तिका रुपमा राप्रपा नेपाल उदाएको छ । स्थानीय निकायको निर्वाचन २०५४ मा झापामा एउटा मात्र स्थान जित्न सफल राप्रपाले २० वर्ष पछि भएको यसपटकको निर्वाचनमा भने ३ वटा स्थानमा विजय हासिल गरेको छ । यस्तो परिणामले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको गृहजिल्लामा उनको प्रभाव विस्तार भएको देखिन्छ ।

२०६२÷०६३ को आन्दोलनताका आन्दोलनकारीको तारो बनेका लिङ्देनले एक दशकमै आफ्नो प्रभावलाई विस्तार गर्न सफल देखिएका छन् । प्रतिकूलताहरुको सामाना गर्दै जीत हासिल गर्नु राजनीतिक नेतृत्वको सफलता मानिन्छ । यसपटकको जनादेशले झापामा राजेन्द्र लिङ्देनको उदयको संकेत गरेको छ । २०५४ को तुलनामा राप्रपाले करिव १८ प्रतिशत मत वृद्धि गरेको तथ्याङ्कले देखाउँछ ।

विगतको तुलनामा कांग्रेसले पनि आफ्नो हैसियतलाई वृद्धि गरेको छ । २०५४ को निर्वाचनमा करिव १४ प्रतिशत प्रमुख पदमा जीत हासिल गरेको कांग्रेसले यसपटक प्रमुख पदमा करिव ३४ प्रतिशत स्थानमा विजय प्राप्त गरेको छ । यसरी हेर्दा विगतको तुलनामा कांग्रेसले पनि करिव २० प्रतिशत मत वृद्धि गरेको छ ।

परिणामका आधारमा वृद्धि देखिए पनि काँग्रेसको गढ मानिएका केही स्थानहरु भने यसपटक भत्किएका छन् । खासगरेर कांग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको क्षेत्रका स्थानीय तह यसपटक गुमेको छ । त्यस क्षेत्रमा एमाले र राप्रपाले जीत निकालेका छन् ।

२०५४ सालमा ३ नगरपालिकासहित ४७ गाविसमध्ये दुई नगरपालिकासहित ३९ स्थानमा एमालेले विजय हासिल गरेको थियो । यसलाई प्रतिशतमा हेर्दा करिव ७६ प्रतिशत हुन्छ । यसपटक १५ स्थानीय तहमध्ये सातवटामा मात्र प्रमुख पद जितेको एमालेले प्रतिशतमा हेर्दा करिव ४६ प्रतिशत हुन आउँछ । यसरी हेर्दा विगतको तुलनामा एमाले ३० प्रतिशतले खस्किएको छ ।  समग्रमा हेर्दा पनि करिव ९ प्रतिशतले विगतकोभन्दा कम देखिएको छ ।

२०५४ को हैसियत कायम राख्ने दाबी गरेको एमाले झापाले यसपटक नसोचेको परिणाम व्यहोर्नु परेको छ । १५ मध्ये १० बढी स्थान जित्ने भन्दै आएको एमालेले परिणाम घोषणा भइसक्दा ७ सिटमै चित्त बुझाउनु पर्यो । आफू भित्रको कलह र नेतृत्वको हैकमवादी शैलीका कारण पार्टी कमजोर भएको कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

पार्टी नेतृत्वले उम्मेदवार छनौट गर्दा गरेको गलत निर्णयका कारण एमालेले आफ्नो गढ भएका स्थानहरु समेत गुमाउनु परेको विश्लेषण गर्न थालिएको छ । झापाको गौरादह नगरपालिका, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा एमालेले नराम्री पराजय व्यहोर्नु पर्यो । जुन घटनाले एमालेभित्रै अन्तरघातको खेल रचिएको मध्यमस्तरका कार्यकर्ताको गुनासो सुनिन्छ । यद्यपी यसको छिनोफानो र निश्कर्ष पार्टी नेतृत्वले समीक्षा गरेर निकाल्ने कार्यकर्ता पङ्तिमा विश्वास छ ।

यसो त नेपाली कांग्रेस भित्र पनि अन्तरघातको चर्चा चुलीमा छ । पार्टीले उम्मेदवार चयन गर्ने शिलशिलामा अपनाएको रणनीति र कार्यकर्ताको चाहनाको बीचमा तालमेल हुन नसक्दा कतिपय अपेक्षाकृत स्थानीय तहमा पराजय व्यहोर्नु परेको जिल्ला नेतृत्वको भनाई छ ।

नेकपा माओवादी केन्द्रले चाहिँ आफ्नो वास्तविक मतसंख्याको आंकलन नै गर्न सकेको थिएन । उसले २०६४ सालमा सम्पन्न पहिलो र २०७० को दोस्रो संविधानसभाको चुनावलाई मात्र आधार बनाएकोमा थोरै संख्यामा भए पनि प्रमुख पद जित्ने अपेक्षा गरेको थियो । ‘धेरैवटामा जित्छौं भन्दै भन्दैनौं’ नेता राम कार्की पार्थले सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘न्यूनतम तीन स्थानीय तहमा प्रमुख पद जित्ने गरीको योजना बनाएका छौं ।’ तर उनको आंकलन फेल खाएको छ ।

हुन त पहिलो चरणको निर्वाचनले कोरिदिएको रेखाकै कारण दोस्रो चरणको निर्वाचनमा मतदाता थोरै भए पनि प्रभावित भएको अनुमान गर्न सकिन्छ । प्रचण्ड नेतृत्वको सरकारले दुई नम्बर प्रदेशलाई थाँती राखेर अरुमा वैशाख ३१ मा नै निर्वाचन गराएको भए सायद वर्तमान परिणाममा केही न केही फरक आउने थियो । तर, माओवादी–कांग्रेसको मुख्य गठबन्धन सरकारले मधेश समस्यालाई अघि सारेर डेढ महिना पछि २ नम्बर प्रदेश बाहेकमा चुनाब गरायो र परिणाममा पनि केही तलमाथि पर्न गएको विश्लेषण गरिएको छ ।

(यो सामग्री साझामञ्च मासिकको साउन अंकबाट लिइएको हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah