हाम्रो समाजमा अझै पनि चेतनाको कमी छ । समाजमा पछौटेपनको प्रभाव छँदैछ । पाँचथरको हिलिहाङ–४ (साविक पञ्चमी–८) मा यस्तो एउटा घटना गराइयो, जुन घटनाका बारेमा सुन्ने बित्तिकै सबैको आङ जिरिङ्ग हुन्छ ।
हिलिहाङ–४ (साविक पञ्चमी–८) की २२ वर्षीया तारा ल्वागुनलाई सुत्केरी व्याथा लागेको रहेछ । शनिबारको दिन स्थानीय लयप्रसाद संग्रौला आफ्नो खेतमा पानी लगाउन गइरहेका थिए । ल्वागुनको घरमा मानिसको होहल्ला सुनेर उनी पनि त्यतै तिर मोडिए ।
त्यहाँ उनले तारालाई केही महिलाहरुले डोरीमा झुण्ड्याएर र केहीले पछाडिबाट ठेल्दै र कसैले छेउछेउबाट निचोर्दै गरेको देखे । संग्रौलाले यस्तो घटना देखेपछि के गरेको भनी जिज्ञासा राख्दा महिलाहरुले यसलाई सुत्केरी गराउन लागेको भनेपछि संगौला अचम्मित भए । उनले सबैलाई यसो गर्नु हुँदैन, यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानु पर्छ भनी तत्काल सवारी साधनसमेतको व्यवस्था गरी स्वयम्ले अस्पताल लगे ।
नियमित गर्भ जाँचसमेत गरेको बताउने ल्वागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायौं भन्दै स्थानीयले घरमै बच्चा जन्मिन्छ भनेर आफूलाई त्यसो गरेको सुनाइन् ।
अहिले उनी अस्पतालको बेडमा आफ्नी छोरीका साथ छिन् । अहिले उनी भन्छिन् धन्य छ लय अंकललाई, उहाँले मलाई बचाउनु भयो । शुक्रबारदेखि व्यथाले च्यापेको र अरुले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि आफूले डोरीमा झुन्डिएर वच्चा जन्माउन खोजेको ल्वागुनले स्वीकार गरिन् ।
मैलै केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो, संग्रौला भन्छन्, हाम्रो समाजमा चेतनाको कमी त छँदैछ तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन । आर्थिक रुपमा समेत कमजोर र पारिवारका अन्य सदस्यहरु समेत अपांग भएकी ती दलित महिलाको लागि संग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोग जुटेको छ ।
अहिले उनलाई विभिन्न स्रोतबाट करिब १५ हजार रुपैयाँभन्दा बढीको सहयोग भएको तारा स्वयम्ले बताइन् । आफ्नो पहिलो सन्तानको जन्म दिने अस्पतालका डाक्टर र स्थानीय समाजसेवी संग्रौलालाई उनी भगवान भन्छिन् । महिलाको शारीरिक अवस्थाको कारण शल्यक्रिया गर्नु परेको भए पनि अहिले आमा र बच्चाको अवस्था सामान्य भएको डा. पवनकुमार साहले बताए ।
जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत धेरै संघ–संस्थाहरु र स्वयम् सरकारले आमा र बच्चाको पोषण र सुरक्षासँगका थुप्रै योजनाहरु र कार्यक्रमहरु सञ्चालन गरेपनि दूरदराजका यस्ता तारा ल्वागुनहरुको पहुँचसम्म पुग्न नसक्नुले त्यस्ता कार्यक्रमहरु पहुँच भएका र सुगम क्षेत्रका लागि मात्र त होइनन् भन्ने प्रश्न उबजनु अस्वाभाविक लाग्न छाडेको छ ।



