काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर २ मा ८० प्रतिशत उम्मेदवारको टुंगो लगाएको छ ।
संविधान संशोधन विधेयक संसदबाट पास गराउने विषय र तराईका जिल्लामा आएको बाढी र डुबान समस्याले केही ढिलाई भएको भन्दै कांग्रेसले भदौ दोस्रो साताभित्र सबै उमेदवारको नाम टुंगो लगाउने बताएको थियो ।
उमेदवारको नाम सर्वसम्मतिमा टुंगो लगाउने प्रयासमा केन्द्रीय कार्यालय सानेपामा केही दिनदेखि निरन्तर चलिरहेको छलफलले ८० प्रतिशत उमेदवारको नाममा सहमति जुटाएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
केही दिनदेखि पार्टी कार्यालय सानेपामा प्रदेश नम्बर दुईका सांसद, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरुको संयुक्त बैठक बसिरहेको छ ।
प्रदेश नम्बर २ का सिरहा, सप्तरी, सर्लाही र महोत्तरी,धनुषा, बारा, पर्सा र रौतहट जिल्लाको छलफल सकेपछि उम्मेदवारीको अन्तिम निर्णय गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।
स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा आगामी असोज २ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।



