बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाको केहि दिन अघि बसेको बोर्ड बैठकले असोज १ गतेदेखि लागु हुने गरी प्लाष्टिकमुक्त देखि लिएर बिभिन्न सुधारको कार्यक्रम लागु गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतमा बसेको बैठकले यस्ता निर्णयहरु गरेको बताईएको छ । निर्णय कार्यान्वयनका लागि सरोकारवाला निकायहरुमा पत्रचार समेत शुरु भएको नगर उपप्रमुख गिता अधिकारीले बताएकीछन् ।
नगरलाइ सुन्दर र स्वच्छ बनाउनका लागि धेरै निर्णयहरु भएको बताईएको छ । बर्र्षौदेखिको समस्याहरुलाइ असोज १ गतेदेखि सामधान गर्ने निर्णय भएको छ ।
निर्माण सामाग्रि थुपार्ने, ढलमा शौचालयको पाइप मिसाउने, बाटो मिच्नेजस्ता कार्यहरु १ गतेबाट रोक्ने बताईएको छ । यस्ता निर्णय गरेको छ नगरपालिकाले ल हेर्नुहोस
१. मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्न सक्ने प्लाष्टिकजन्य चियाकप प्लेटलाई मिति २०७४।०६।०१ देखि पूर्ण रुपमा प्रतिबन्ध गरी वैकल्पिक व्यवस्था गर्ने । जसका लागि चिया पिउन कागजको कप प्रयोग गर्ने । तातो खाद्य पदार्थ प्रयोग गर्न समेत कागज प्लेट वा दुना टपरा मात्र प्रयोग गर्ने । जातिय संस्कारमा जोडिएर उक्त अवस्थामा प्रयोग गर्न यसले बाधा पु¥याएको नमानिने ।
२. मानव स्वास्थ्य र वातावरण असर पार्ने खादाहरु मिति २०७४।७।१ गते बाटै कसैले प्रयोग गर्न नपाउने । त्यसको विकल्पमा फुल गुच्छा र सुति कपडाका खादाहरु (गम्छा) मात्र प्रयोग गर्ने ।
३. मिति २०७४।७।१ गते देखि सडने गल्ने फोहोर अलग, नसडने पु्नः प्रयोगमा आउने जस्तै प्लाष्टिक बोतल, कुर्सी, बाल्टिन लगायन अन्य अलग डष्टविनमा राख्ने । नसडने तथा पुनः प्रयोगमा समेत नआउने वस्तुलाई अलग डष्टविन राख्ने र सोही अनुसार संकलन गर्ने ।
४. मिति २०७४।६।१ गतेदेखि कुनैपनि नागरिकहरुले सडकमा निर्माण सामाग्री डम्पिंग गर्न नपाइने । गृह लगायत अन्य निर्माणका लागि सामाग्री बाटामा खसाउनु पर्ने भए १ दिन भित्र सडक खाली गरि सक्नु पर्नेछ । यदि खाली गर्ने उपाय छैन भने टोल विकासको सिफारिसमा वडा समितिले समय तोकेर यातायातलाई बाधा नपर्ने गरी अनुमति दिन सक्नेछन् । उक्त अनुमतिको म्याद ३ देखि ५ दिनसम्मको मात्र हुनेछ ।
५. सडने वा नसडने जुनसुकै प्रकारका ठोस पदार्थहरु नालामा फाल्न पूर्ण रुपमा बन्देज हुनेछ । नाला, ढल पानी बग्नका लागि मात्र हुनेछन । नालामा ट्वाइलेटबाट दिशा पिसाब बगाएको पानी हाल्न समेत पूर्ण बन्देज हुनेछ ।
६. बजार क्षेत्रमा मिति २०७४।८।१ गतेदेखि सार्वजनिक क्षेत्रमा धुम्रपान गरेको पाइएमा कारवाहीको विषय बनाइनेछ ।
७. न.पा. हाताभित्र सेवाग्राही, कर्मचारी, जनप्रतिनिधिले धुम्रपान, मद्यपान, खैनी, गुट्खाको प्रयोग गरेको पाइएमा कारवाहीको विषय बनाइनेछ ।
८. विना अनुमति सडक पेटीमा कसैले पनि अस्थायी रुपमा सडक अवरुद्ध गरेर पसल व्यवसाय संचालन गर्न पाइनेछैन । लामो समय देखि फुटपाथ मै पसल संचालन गर्दै आएका व्यापारीलाई व्यापारको प्रकृति र पसल संचालन गर्ने स्थान हेरी अस्थायी अनुमति दिइनेछ ।
९. मिति २०७४।८।१ गतेदेखि मजदुर वर्गको सिप विकास गरी दक्ष बनाउन २५ प्रतिशत स्वयम् व्यक्ति र ७५ प्रतिशत रकम नगरपालिका बाट व्यहोर गरी सिप परिक्षण गर्ने कार्यको थालनी गरिनेछ ।
१०. घर निर्माण गर्दा निर्माण सामाग्रीबाट नाला पुरिन गएमा सम्बन्धित घरधनीले नै सफा गर्नुपर्नेछ ।



