नुनुता राई/नयापत्रिका बाट
निरुजी र मेरो भेट धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भएको थियो । उहाँ मभन्दा एक ब्याज जुनियर हुनुहुन्थ्यो । उहाँ कमर्सको विद्यार्थी, म आर्टस्को । उहाँको दिउँसो पढाइ हुन्थ्यो भने मेरो बिहान । म आइए दोस्रो वर्षमा हुँदा उहाँ महेन्द्र बहुमुखी क्याम्पसमा आउनुभएको थियो । हामीलाई राजनीतिले नजिक बनाएको थियो । ०४६ सालको आन्दोलनको तयारी भइरहेको थियो । त्यसकै तयारीका लागि भेट हुन्थ्यो । म पढाइसँगै अंग्रेजी विषयको ट्युसन पनि पढाउँथेँ । मेरो मेजर विषय अंग्रेजी भएकाले अंग्रेजी पढाउने गर्थेँ । उहाँ पनि आउनुहुन्थ्यो । हामी बिस्तारै नजिकिन थाल्यौँ, तर एकअर्कालाई मन पराएरभन्दा पनि संगठनको कामले । लोकबहादुरजी हामी दुवैको साथी हुनुहुन्थ्यो । हामी दुवैको घर दमक भए पनि पहिला चिनजान थिएन । लोकजी र निरुजीचाहिँ छिमेकी हुनुहुँदो रहेछ । निरुजी र म दमकमा एउटै स्कुल पढेका रहेछौँ । पछि मात्र थाहा भयो । हामी धरानमा प्रायः सँगै हिँड्थ्यौँ । लोकजीलगायत अन्य साथी पनि हुन्थ्यौँ । कलेज आउँदा–जाँदा कहिलेकाहीँ सँगै भइन्थ्यो । नत्र आफ्नै तालमा हिँडिन्थ्यो । धरानमा भने दुईबीच प्रेम सम्बन्ध छ भन्ने हल्ला रहेछ । तर, हामीबीच साथीत्वको बाहेक अन्य कुनै सम्बन्ध थिएन । हामी पढेको विद्यालय हिमाविले भूतपूर्व विद्यार्थीलाई बोलाएर होलीको आयोजना ग¥यो । कार्यक्रमपछि लोकजीको घरतिर गयौँ । निरुजीको घर पनि नजिकै थियो । उहाँको घरमा पनि गयौँ । उहाँको घर–परिवारसँग गफगाफ, चिनजान भयो । सामान्य गफगाफपछि एकछिन बसेर लोकजी र म फक्र्यौं ।
४७ सालको वैशाखको पहिलो हप्ताको कुरा हो । चैते दसैँपछि निरुजीले मसँग छुट्टै भेट्नु छ, कुरा अलि गम्भीर छ भन्नुभएको थियो । साथीहरू खगेन्द्र र धनपति पनि थिए । साँझ भेट्ने सल्लाह भयो तर त्यही दिन उहाँको फूपूहरू आउनुभएछ, भेट भएन । त्यसको भोलिपल्ट भेट्ने समय मिलायौँ । साथी खगेन्द्र र म उहाँको कोठामा गयौँ । एकछिन सामान्य गफ गरेपछि निरुजीले कुरा थाल्नुभयो । भन्नुभयो, ‘मेरो घरमा केटा माग्न आएको थियो, बुवाले हुन्छ भन्नुभएको छ ।’ कुरा सुनेर हामी खुसी भयौँ । र, मैले केटा के गर्छ ? भनेर सोधेँ । निरुजीले इन्जिनियर हो भन्नुभयो । हामी दुईले त खुसी हुँदै निरुजीलाई जिस्कायौँ । केटीहरू कत्ति भाग्यमानी है पढ्नु पनि परेन इन्जिनियर, डाक्टरसँग विवाह गरे स्वतः इन्जिनियर, डाक्टरनी भइहाल्छन् भन्दै ठट्टा गरिरहेका थियौँ निरुजीले मैले सिरियस कुरा गरिरहेकी छु भन्नुभयो । हामी पनि सिरियस नै कुरा गरिरहेको भन्यौँ । त्यसपछि उहाँले ‘मिनजी के भन्नुहुन्छ, मैले त तपाईंलाई रोजेकी छु’ भन्नुभयो । मैले पनि रमाइलै पारामा देखेपछि राम्रो लाग्ने, मन पर्ने अनि सँगै बस्न मन लाग्ने भएको हो ? भनेँ । निरुजीले म सिरियस्ली रूपमा भन्दै छु, तपाईं पनि सिरियस हुनुहोस् न भन्नुभयो । त्यसवेला त्यो कलेजमा करिब पाँच हजार विद्यार्थी थिए होला, त्यसमध्येमा मलाई उहाँ सर्वगुण सम्पन्न लाग्थ्यो । तर, विवाह गर्ने सोचले भने होइन । निरुजीको कुरा सुनेपछि म पनि गम्भीर बनेँ । के गर्ने भन्ने समस्या आयो । हामी दुवैजना विद्यार्थी, राजनीतिमा सक्रिय । मैले सामान्य पढाउँथेँ, जागिर थिएन । त्यसमाथि हाम्रो जात पनि मिल्दैन थियो । हामीसँग खगेन्द्रजी पनि हुनुहुन्थ्यो । उहाँले पनि जातले समस्या होला भन्ने सोच्नुभएछ । मैले कस्तो समस्या आउन सक्छ भनेर उहाँलाई सविस्तार सुनाएँ, तर निरुजीले धेरै सोचिसक्नुभएको रहेछ । भन्नुभयो, ‘म जस्तोसुकै संघर्ष गर्न तयार छु, तपाईंले आँट गर्नुस् ।’ मैले उहाँलाई म त आमाका लागि विवाह गर्ने हो, आमाले के भन्नुहुन्छ भनेँ । अहिले भए त त्यति भन्दा दुई–चार लात खाइथ्यो होला । त्यसवेला त्यस्तै थियो बचियो । त्यसपछि हामीले समस्या के–के हुन्छ भनेर ७ वटा बुँदा बनायौँ ।
मेरो मावली सिक्किम थियो । आमाबुवा मावली जानुभएको थियो । मैले आमालाई नसोधी नलाने अड्डी कसेपछि आमालाई सोध्नुस् भन्नुभयो । ०४७ साल वैशाख ९ गते बिहानै आमालाई सोध्न सिक्किम गएँ । सबै कुरा सुनेपछि आमाले उनको परिवारले के भन्ने हो, तिमीहरूको मन मिल्छ भने जे लाग्छ त्यही गर भन्नुभयो । मेरो जेठा दाजुलाई पनि भनेँ । उहाँ पनि मेरो पक्षमा हुनुभयो । बुवालाई पनि भनेँ । उहाँले पनि अनुमति दिएपछि नेपाल आई वैशाख १७ गते निरुजीलाई लगेर सिक्किम गएँ । यसरी हाम्रो विवाह भएको थियो । आजभोलिको जस्तो रोमान्टिक लभ थिएन । हाम्रो इनोसेन्ट लभ थियो । उहाँले मलाई राम्रो मान्नुहुन्थ्यो, म उहाँलाई राम्रो मान्थेँ । विवाहको आधार त्यही बन्यो । अहिले हाम्रो विवाह भएको २७ वर्ष पुग्दै छ । अहिलेसम्म २७ मिनेट पनि बाझेका छैनौँ । एकअर्काबीचको सम्बन्ध पारदर्शी छ । गल्ती गरे पनि एकअर्कालाई ढाँट्दैनौँ । वैवाहिक जीवन सुरु भएपछि धेरै संघर्ष गर्नुप¥यो । पढाइ, राजनीति, परिवार चलाउनका लागि सजिलो थिएन । त्यसवेलाको अवस्था आजभोलि सम्झँदा ऐँठन होलाजस्तो लाग्छ । तर, एकअर्काको सहयोग र साथले जीवन सहज बनाउँदै आयौँ । उहाँले मेरा लागि, छोराछोरीका लागि पढाइ, राजनीति छाड्नुभयो । छोराछोरी बढेपछि ब्याचलर पढ्नुभयो । अहिले फेसन डिजाइनिङ सिकेर बुटिक सञ्चालन गर्दै हुनुहुन्छ । अहिले पनि हामी साथी–साथीजस्तै छौँ । सँगै भयौँ भने कहिले पनि गफ सकिँदैन । म उहाँलाई निरुजी नै भन्छु । उहाँले पनि मलाई मीन सर भन्नुहुन्छ । कहिलेकाहीँ उहाँलाई सन्चो भएन भने सकेसम्म म छिटो घर जाने गर्छु र मेरो स्पर्शले मात्र पनि उहाँको आधा दुखाइ सन्चो हुन्छ । सकेसम्म म उहाँलाई खुसी राख्न सकौँ भनेर कोसिस गर्छु । घरमा हुँदा खाना पकाएर खुवाउँछु । बिहान प्रायः म नै चिया बनाउँछु । हामी खुसी छौँ ।










