कुमरखोद (झापा) । केही दिनअघिको बाढी तथा डुवानमा परेर धेरै सर्वसाधारण घरबार विहीन हुनुपर्यो । त्यो बेला उनीहरुलाई विद्यालय तथा अन्य सामुदायिक भवनहरुमा राखिएको थियो । उनीहरुका भिजेका कपडा कसरी फेराउने र खानपीन गराउने भन्ने चिन्ता थियो । तर झापा गाउँपालिकामा रहेको झापा बजारका १० जना युवाले आफ्नो ठाउँका ४ सय ३२ जना बाढी पीडितलाई खुवाए र कपडाको व्यवस्था गरिदिए । डुवानको शुरुवाती दिनमा कुनै पनि सहयोग तथा राहत नपुगेको बेला ति युवाको सेवाको मुक्त कण्ठले बाढी पीडितहरुले प्रशंसा गरेका छन् ।
साउन २७ गते शुक्रबार राति एक्कासी खोलामा आएको बाढीले झापा गाउँपालिकाका अधिकांश स्थान डुबायो । केहीको पानीले बगाएर रातिनै ज्यान गइसकेको थियो । बाँचेकाहरु कसरी सुरक्षित स्थानमा पुग्न सकिन्छ भनेर यता उता हेर्दै थिए तर कतै बाटो थिएन । त्यही बेला झापा बजारका दस जना युवा निस्के उनीहरुको उद्दार र खानपीनको व्यवस्था गर्न । ति युवामध्ये एकजना थिए मनोजकुमार गणेश ।
मनोजले आफ्ना मन मिल्ने साथीहरुसंग अब हामी चुप लागेर बस्न हुँदैन भनेर । बाढीबाट निथ्रक्कै भिजेका आफ्ना गाउँका बासिन्दालाई देखेपछि उनको मन झनै रोयो । उनले भने, ‘उनीहरुको त्यो स्थिति देख्दा अझै मन रुन्छ । हतार हतार सबभन्दा पहिला हामीले स्कूलमा ल्याएर राखेर तातो चिया बनाएर खुवायौं ।’ बाढीको पूर्वसन्ध्यामा त्यहाँ भएका सुरक्षाकर्मी बाहेक उद्धारका लागि त्यहाँ अन्य सुरक्षाकर्मी पुग्न सक्ने अवस्था पनि थिएन । उनीहरुले बाढी पीडित सर्वसाधारणलाई समय समयमा पर्याप्त खानेकुरा खुवाए ।
विपदका बेला कोसंग सहयोग माग्न जाने? उनीहरुले कुनै बाटो देखेनन् । अन्ततः उनीहरुले आफ्नै पैसा खर्च गरे । अर्का एकजना युवा दिलिपकुमार सुवेदी भन्छन्, ‘हामीसंग भएका पैसा बाहेक र झापा बजारबासीले गरेको सहयोग भन्दा अर्काे केही उपाय पनि थिएन । हामीले सोच्यौं अब हामीसंग जे जति छ त्यसैले उनीहरुलाई खानेकुराको व्यवस्था मिलाउनु पर्छ । त्यही अनुसार काम गर्दै गयौं ।’
एक कप चिया समेत खान नपाएका रातभर भिजेका बाढी पीडितलाई सबभन्दा पहिला एक कप तातो चिया खुवाएपछि उनीहरुको अनुहारमा देखिएको उज्यालोले सेवा गर्ने हौसला अझ मिलेको अनुभूति सुनाउँछन् अर्का युवा मनोजकुमार खत्री । उनले भने, ‘उहाँहरुलाई जब हामीले तातो चिया खुवायौं त्यो बेला उहाँहरुको अनुहार देखिएको हाँसोले हामीलाई अझ काम गर्ने हौसला मिल्यो ।’ सरकारका तर्फबाट राहत बाँढन शुरु गर्दा बाढी आएको पाँच दिन भइसकेको थियो । त्यो पाँच दिन यिनै युवाको भरमा झापा गाउँपालिकाका बाढी पीडित बासिन्दा आश्रित थिए ।
युवाहरुको जोस जाँगरका कारण अन्य झापा बजारबासीलाई पनि विपदका बेला बाढी पीडितलाई सहयोग गर्नका लागि प्रेरणा मिलेको झापा बजारका एकजना व्यापारी ब्रह्मलाल राजवंशीले बताए । उनले पनि सक्दो सहयोग गरे । आफ्नो पसलमा भएका खानेकुरा लगायत अन्य पसलबाट समेत किनेर दिएको उनले सुनाए ।
अहिले बाढी पीडितहरु घर फर्किएका छन् । उनीहरुको घर सुकेको छ तर आधा घर डुबेको पानीको घेरा अहिले पनि जस्ताको त्यस्तै छ । सबभन्दा पहिला खानपीन र कपडाको जोहो गरिदिएका ति युवाको कामप्रति सबै बाढी पीडित खुशी छन् । झापा बजार नजिक रहेको बालुवाटारकी एकजना बाढी पीडित रत्नमाया विष्टले भनिन्, ‘उहाँहरुले नै हो हामीलाई बचाएको । हामीले लगाएको जति थियो त्यतिमै स्कूलमा गएर बस्यौं । हामी स्कूलमा बसिन्जेल सरकारी मान्छेको त अनुहार पनि देख्न पाएनौ ।’
अर्का बाढीपीडित मिलनकुमार भुजेलले गाउँमा एउटा ठूलै कार्यक्रम गरेर गाउँबासी बाढी पीडितको सेवा गर्ने युवालाई सम्मान गर्ने बताए । विपदका बेला के गर्दा ठिक हुने रहेछ भनेर यसपटकको विपदबाट ठूलो पाठ सिकाएको मनोजकुमार गणेशले सुनाए । त्रिभुवन आधारभूत विद्यालय कुमरखोदमा बसेका चार सय ३२ जना बाढी पीडितलाई झापा बजारका युवाले सेवा गरेका थिए । खबर मंच बाट



