बलिउड अभिनेत्री कंगना रनौट फेरि एकपटक चर्चामा आएकी छिन् । केही समय अघि मात्र उनले बलीउडमा भाई भतिजावादको विषयलाई लिएर फिल्म निर्माता तथा निर्देशक करण जोहरसँग विवादमा रहेकी थिइन् । अब फेरी उनी ऋतिक र उनको सम्बन्धका बारेमा टेलिभिजनमा बोलेर चर्चामा आएकी छिन् ।
एक टेलिभिजनसँग कुरा गर्दै आफूले बलीउडका चर्चित अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाहेको र आफूहरु दुईका बीचमा यो विषयमा पहिलै नै कुरा भइसकेको बताइन् ।
कंगनाको दाबी अनुसार ऋतिकले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदपछि तत्कालै उनीसँग बिवाह गर्ने वाचा गरेका थिए । तर पछि आफूहरु दुईका बीचमा चिनजान नै नभएको जस्तो गरेर अपरिचित जस्तो व्यवहार गर्न थाले ।
यद्यपी कंगना र ऋतिकका बीचमा भएको यो विवाद पहिलो र कुनै नौलो भने होइन । काइट्स र क्रिस ३ मा काम गरिसकेका उनीहरुले एक अर्कालाई कानुनी मुद्दामा समेत लडाइसकेका छन् । उनीहरुले लामो समयदेखि आफ्नो प्रेम सम्बन्धलाई नकार्दै आएका पनि थिए ।
२५ जनवरी २०१६ मा ऋतिक रोशनले आशिक ३ फिल्ममा कंगनाको ठाउँमा सोनम कपुरलाई रिप्लेस गरेको खबर सार्वजनिक भएको थियो । यसबाट पनि उनीहरुको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
त्यसपछि उनीहरुको विवाद कंगनाको मेलको विषयलाई लिएर चर्चामा रहेको थियो ।
ऋतिकले कंगनाको अकाउन्टबाट आफैलाई हजारौ म्यासेज गरेको बताइन् । उनले भनिन्, ऋतिकले मेरै अकाउन्टबाट आफूलाई नै मेल पठाउदै मैले पठाएको आरोप लगाएका थिए । ऋतिकले मेलमा लेखेका थिए, मलाई तिम्रो साह्रै याद आउछ । म त मर्नै लागे । मेरो दिमागमा समस्या रहेको छ, उपचार गराउ । तर ऋतिकले कंगनाले नै आफूलाई यस्ता हजारौँ मेल पठाउदै आएको दाबी गरेका थिए ।



