१४ वर्षअघि राजा ज्ञानेन्द्रले सूर्यबहादुर थापाको नेतृत्वमा गठन गरेको सरकारमा महिला तथा बालबालिका मन्त्रीको जिम्मेबारी सम्हालेकी सप्तरीकी रेणु यादव संघीय समाजवादी फोरमकी २ नम्बर प्रदेश इञ्चार्ज हुन् ।
राजावादी चरित्रबाट राजनीतिक उदय भएपनि रेणुले अवसरबाट बञ्चित हुन परेन । सम्बन्धलाई नाटकीय ढङ्गले समानान्तर राख्न सिपालु रेणु अहिले विवादमा छिन् ।
२ नम्बर प्रदेशको सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवार चयनका विषयमा आफ्नै कार्यकर्ताबाट बन्दिसम्म बनाइएकी रेणुमा नातावाद हावी हुन थालेको छ । उहिले सूर्यबहादुरको हात पाएकी रेणु मन्त्री भएपछि उनलाई सत्ताकेन्द्रमा बस्ने रहर कहिले टरेन । सूर्यबहादुर शक्तिमा उम्दा भएर सक्रिय रेणु राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरी जनशक्ति पार्टी गठन भएपछि त्यसमा सक्रिय रहेकी थिइन् । मधेस र त्यसमा पनि महिलाको यो सक्रियता देखेपछि सूर्यबहादुरको आशिर्वाद उनमा कायम रह्यो । तर, शान्ति प्रक्रिया हुँदै अघिल्लो संविधानसभामा राजनीतिको हावा अन्यत्रै वगेपछि उनको बाटो मोडियो । तत्काल मधेसी जनाधिकार फोरम नेपालको मधेस क्रेजसँगै सूर्यबहादुरले हात दिएपनि उनलाई उपेन्द्रले काख नै दिए ।

‘उनलाई आवश्यकता भन्दा बढि उपेन्द्रले महत्व दिए । उनीहरूमा राजनीतिकमात्र नभएर यादव समुदायको सम्बन्धले पनि काम गरेको थियो’, संघीय समाजवादीका एकजना नेताले भने,‘त्यतिमात्र नभएर सक्रिय राजनीति गरिसकेकी र मन्त्री समेत भइसकेकी महिलाको साथ पाएपछि उपेन्द्रले अरुलाई भन्दा उनलाई काखी च्यापेर हिँड्न थाले ।’
राजनीतिमा मुनाफाको बाटो रोजिरहने प्रवित्ति भएपनि रेणुले फोरम विभाजन हुँदै जाँदा पनि उपेन्द्रको साथ छाडिनन् । प्रायः प्रत्येक कार्यक्रम, औपचारिक र अनौपचारिक कार्यक्रममा पनि उपेन्द्रसँग देखिन थालिन् । यहाँसम्मकी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्रको भन्दा रेणुको निर्णय पार्टीमा हावी हुन थाल्यो । ‘उनी राजनीतिक प्रियतम् जस्तो भएर अगाडी देखिन थालिन् । त्यसैले स्थानीय तहको निर्वाचनमा पनि उनी हावी भइन् । कार्यकर्तालाई ज्ञानेन्द्रको शैली उनले अपनाइन् ।’, उनकै कार्यकर्ताले भने ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरूद्धप्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी भएपछि पार्टीभित्र रेणुको हुकुमी शासन र उपेनद्रको निरिहता प्रष्ट भएको कार्यकर्ताहरू बताउँछन् ।
केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरूले पनि सकेनन् । आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् । त्यो काम रेणुले नै गरेकी हुन् । अध्यक्ष यादवले उनको निर्णयमा विना अवरोध लालमोहर लगाएपछि उनीविरूद्ध कार्यकर्ता आन्दोलनमा उत्रिन बाध्य भए । ‘जिल्ला र अन्य नेतासँग एक शव्द पनि नसोधी उपेन्द्रले किन त्यो निर्णय माने ?’, एकजना कार्यकर्ताले भने, ‘यसले उनीहरूको सम्बन्ध थाहा हुन्छ ।’
आफ्नो छोराले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमूखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनीविरूद्ध नाराबाजी गरेका थिए ।
रेणुलाई यो निर्णय गर्ने हिम्मत उपेन्द्रको साथ र पुरानो राजनीतिक छविका कारणले पलाएको धेरैले विश्लेषण गरेका छन् । अहिर समुदायकी रेणु ९ वर्ष अघि शिक्षा मन्त्री समेत भएकी थिइन् । प्रतिनिधि सभामा १८ वर्ष अघि उनले सप्तरीमा जीतेको इतिहाँस पनि उनको दम्भको कारण बनेको धेरैले बुझेका छन् । मधेस आन्दोलनका क्रममा उनले संसद सदस्य त्यागेर मधेस आन्दोलनको हावामा उपेन्द्रसँग काँध मिलाएकी थिइन् । त्यहि बेला उनले फेरि फोरमबाट सप्तरी–४ मा संसद जितेकी थिइन् । उनले त्यसबेला कांग्रेस उम्मेदवार दिनेशकुमार यादवलाई पनि पराजित गरेकी थिइन् । सझापोस्ट बाट साभार



