- किशोर बुढाथोकी (सिन्धुपाल्चोक)
वि.सं. २००० फागुन १७ का दिन । जिल्ला अदालत सिन्धुपाल्चोकमा एउटा अनौठो (तत्कालिक परिवेशमा अनौठो) मुद्धा दर्ता भयो । आइमाई बेचेको अभियोगमा एक महिलाविरुद्ध मुद्धा ।
जिल्ला अदालतको मिसिलअनुसार सिंहबहादुरले कुसुमकुमारीविरुद्ध जिल्ला अदालतमा जाहेरी दिएका हुन् । मिसिलअनुसार ‘मान्छे’ बेचिएको विरुद्ध दर्ता भएको जिल्लाको यो पहिलो मुद्दा हो जसमा महिलालाई महिलाले नै बेचेको उजुरी छ । यो मुद्धाको फैसला ८ भदौ २००१ सालमा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पक्राउ पर्न बाँकीमध्ये अन्तिम मुद्दामा पनि महिला नै प्रतिवादी छ । २०७१ सालमा दर्ता भएको मुद्धामा पाङ्ग्रेटारकी एक महिला अझै फरार छिन् ।
मानव बेचबिखन गरेको आरोपमा जिल्लामा दर्ता भएका मुद्धामध्ये झण्डै आधाजसोमा महिला प्रतिवादी छन् । अदालतको तथ्यांकअनुसार २०२५ चैत २६ गते तर्दा भएको मुद्धामा पनि प्रमिला लामा प्रतिवादी रहेको देखिन्छ । यो मुद्धा मानव बेचविखन अन्तर्गतको जिल्लामा उजुरी भएको तेस्रो हो । त्यस्तै २०२९ असोज ५ गते कान्छी तामाङ विरुद्धको मुद्धा दर्ता भएको छ । यो मुद्धा अदालतमा दर्ता भएको पाँचौ मुद्धा हो । यो समीकरणले पनि झण्डै आधाजसो मुद्धामा महिला प्रतिवादी रहेको तथ्य देखाएको छ । तथ्यांकअनुसार पछिल्लो दसकमा पनि मानव बेचविखनको आरोपमा महिलाहरुमाथि नै बढी उजुरी परेको छ ।
‘महिलाले महिलाकै कुरामा बढी विश्वास गर्ने भएकाले पनि यो अवस्था आएको हो,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी विमलराज कणेल भन्छन्, ‘पुरुषले ढाँट्न र छल्न सक्ने हुँदा महिलाका लागि महिलालाई नै प्रयोग गरिएको हुनसक्छ ।’ उनले लैगिक हिसाबले पनि मनको कुरा खोल्न सक्ने र कुनै लालच देखाएर दुःख परेकालाई उन्मुक्तिको आश्वासन दिदाँ महिलाहरु बेचविखनमा पर्ने गरेको बताए ।
जिल्लामा विकट गाउँका महिला अधिकांश निरक्षर भएकै कारण पनि बेचविखनमा परेका छन् । केही साक्षर र सहरमा बस्ने गरेका महिलाप्रति उनीहरुको विश्वास र अपेक्षा बढी हुन्छ । ‘सानो लालचमा पनि सहजै विश्वास गरेर सहरमा बस्ने महिलासँगै जाने हुँदा गाउँका महिलाहरु बेचविखनमा परेका छन्,’ डिएसपी कणेलले भने, ‘कुनै पनि युवतीहरु महिलाप्रति नै ‘सेन्टिमेन्ट’ हुँदा महिलाहरु नै अपराधमा फसिरहेका छन् ।’ उनका अनुसार कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी या अन्य व्यक्तिको पनि महिलाप्रति आँखा नपुग्ने हुँदा उनीहरु अग्रसर हुने गर्छन् ।
मानव बेचबिखनको अभियोगमा विभिन्न अदालतबाट सजाय सुनाइएका जिल्लाका ४५ बढी अझै पक्राउ पर्न सकेका छैनन् । तीमध्ये पनि झण्डै १५ को हाराहारीमा महिला प्रतिवादी छन् । उनीहरु पनि कानुनी दायरामा आउन सकेका छैनन् । पुरुषको तुलनामा फरार महिला अभियुक्तलाई पक्राउ गर्न कठिन हुने प्रहरीको भनाई छ । घटना र विचार बाट



