विद्यार्थी राजनीतिमा दुई दशक –
रञ्जित तामाङको विद्यार्थी राजनीति स्कुलबाटै सुरु भयो । ०५५ मा स्कुल पढ्दादेखि अनेरास्ववियु (क्रान्तिकारी)मा संगठित भएका उनी झन्डै दुई दशकसम्म कतै मोडिएनन् । एउटै संगठनमा रहेर विद्यार्थी राजनीतिको ‘लङ रेस’मा उनी अन्ततः अध्यक्ष पदमा पुग्न सफल भए, त्यो पनि चुनावै लडेर । अखिल क्रान्तिकारीको इतिहासमै तामाङ यस्ता अध्यक्ष हुन्, जो आशीर्वादको टीका लगाएर होइन, विद्यार्थी प्रतिनिधिको भोट पाएर अध्यक्ष भएका छन् । संगठनको साधारण सदस्यबाट अध्यक्षको पदसम्म आइपुग्दा तामाङको जीवनमा कैयौँ मोड आए । भवानीश्वर गौतमसँग उनले ती मोड सम्झिएका छन् :
विद्यार्थी राजनीतिको यात्रा
विद्यालयमा पढ्दै गर्दा ०५५ मा अनेरास्ववियु (क्रान्तिकारी)मा प्रवेश गरेको थिएँ । झापा जिल्लाको तत्कालीन तोपगाछी गाविस–३ मा रहेको महेन्द्ररत्न माविमा कक्षा ८ मा पढ्दा अखिल क्रान्तिकारीमा संगठित भएँ । त्यसको एक वर्षमै ०५६ बाट क्षेत्रीय समिति सदस्यको जिम्मेवारी पाएँ । एसएलसी पासपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएँ । त्यहाँ इकाई समिति सदस्य भएँ । ०५८ मा झापा जिल्लाको सदस्य हुँदै पूर्णकालीन कार्यकर्ता भएँ ।
०५८ मा संकटकाल लाग्दा हामीमाथि राज्यको निगरानी थियो । १९ पुसमा गिरफ्तार नै गर्यो । झन्डै १८ महिना जेलमा राख्यो । २९ वैशाख ०६० मा जेलमुक्त गरिदियो । यसै वर्ष संगठनको सम्मेलन आयोजक कमिटी सह–संयोजक हुँदै जिल्ला समिति सचिवसम्मको जिम्मेवारी प्राप्त भयो । ०६१ मा संगठनको झापा जिल्ला अध्यक्ष भएँ । ०६१ मै केन्द्रीय समिति सदस्य हुँदै ०६३ मा काठमाडौं जिल्ला अध्यक्ष भएँ । काठमाडौं जिल्लामा अध्यक्ष र इन्चार्ज गरी चार वर्ष भूमिका निर्वाह गरे । ०६७ मा केन्द्रीय सचिवको जिम्मेवारी मिल्यो । ०७१ देखि संगठनको उपाध्यक्ष भएर सक्रिय रहँदै आउँदा अहिले २१औँ राष्ट्रिय सम्मेलनबाट साथीहरूले केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनुभयो ।
वामपन्थी पारिवारिक पृष्ठभूमि
वामपन्थी पृष्ठभूमि भएको परिवारमा जन्म भयो । मोरङको चर्चित झोरा काण्डमा बाबुले झन्डै आठ वर्ष जेलमा बिताउनुभयो । स्कुलमा पनि शिक्षकहरूसँग मेरो राम्रो संगत थियो । धेरै शिक्षक एमालेमा आबद्ध हुनुहुन्थ्यो । उहाँहरूले मदन भण्डारीका भाषण सुनाउनेदेखि विभिन्न कार्यक्रममा सहभागी गराउनुहुन्थ्यो । उहाँहरूको आदेशमा पार्टीका झण्डा गाड्दै हिँड्ने काम पनि गरियो । विद्यार्थी जीवनमा हामी त्यही पृष्ठभूमिबाट आकर्षित भयौँ ।
१७ वर्षको उमेरमा जे भोगेँ
विद्यार्थीकालको राजनीतिक जीवनमा बिर्सिनै नसक्ने केही घटना भए । संकटकाल लागेपछि तत्कालीन राज्यले अखिल क्रान्तिकारीलाई आतंककारीको बिल्ला लगायो । हाम्रा मूल पार्टीका नेताहरूको टाउकोको मूल्य नै तोक्यो । त्यस अवधिमा म सानै भएकाले संकटकाल के हो भन्नेसम्म थाहा थिएन । पार्टीको प्रशिक्षण पनि त्यति थिएन । संकटकाल लाग्यो भनिसकेपछि माओवादी, अखिल क्रान्तिकारी देख्नेबित्तिकै प्रहरी, सेनाले जुनसुकै वेला गोली चलाउँछ भनेर आतंकको वातावरण सिर्जना भएको थियो । जताततै भय र आतंक थियो । त्यो समयमै म जेल परेँ ।
जेलजीवन धेरै कष्टमय भयो । म महेन्द्र मोरङ क्याम्पसबाट ०५८ पुसमा अघिल्लो दिन मात्र गाउँ गएको थिएँ । आफन्तको घरमा सुतिरहेको थिएँ । बिहान उठ्दा चारैतिरबाट सेना प्रहरीले घेरिरहेका रहेछन् । मलाई उनीहरूले चिने । त्यो समयमा धेरै दुःख दिए । मसँग हातहतियार रहेको आरोप लगाए । उनीहरूले ‘तेरा नेताहरूबारे सुराकी दे’ भन्दै धेरै दुःख दिए । असाध्यै धेरै शारीरिक र मानसिक याताना पाएँ । पक्राउ परिसकेपछि प्रहरीको ड्रेस लगाएर हिँड्न लगाए । आत्मसमर्पण गर्न भने । म विद्यार्थी हुँ केही गल्ती गरेको छैन भन्दा पनि छाडेनन् ।
जेलजीवन रोएर बित्यो
१७–१८ वर्षको त्यो उमेरमा निकै आतंकित भएँ, म । हिरासतमा रहँदा धेरै रोएँ । त्यतिखेर मधेसी मूलका एकजना प्रहरी थिए । उनले मलाई जेलमा यातना हुँदैन भनेर सान्त्वना दिए । तर, मलाई उनको बोलीको भर नै लाग्दैनथ्यो । हिरासतमा म धेरै बोलिनँ । अग्रजहरूले धेरै बोल्नुहुँदैन भनेर पहिशशशै सम्झाउनुभएको थियो ।
१७-१८ वर्षको उमेरमा जेलजीवन अकल्पनीय नै भयो । जेलमा पनि धेरै रोएँ । जेलका नाइकेहरूले मलाई सुरुमै नियम सुनाए । भोलिपल्ट बिहान ४ बजे नै उठाउन आए । जेलमा जो सबैभन्दा पछि आएको छ, उसैले सरसफाइलगायत काम गर्नुपर्ने रहेछ । मैले भनेअनुसार काम गरेँ । तीन–चार दिन काम गरेपछि जेलमा कहिले नयाँ मान्छे आउला भन्नेसम्म लाग्यो । कतिपयले मलाई धेरै सम्झाए । यति सानो उमेरमा किन माओवादी भएको भन्थे । खुरुखुरु पढ्नु पो पर्छ भन्थे ।
तीन–तीन महिनामा थुनामुक्त गरेको बहाना गथ्र्यो । तर, पुनः प्रहरी हिरासत पुर्याउँथ्यो र फेरि जेलमै ल्याउँथ्यो । मैले ६ चोटिसम्म हिरासत र जेलको ओहोर–दोहोर नाटक भोगेँ ।
भिडन्तका नाममा मार्ने डरले पिसाब गरिनँ
१५ माघ ०६० मा बाबुराम भट्टराईको नेतृत्वमा दोस्रो वार्ता समिति बन्यो । उहाँहरू कीर्तिपुरबाट सार्वजनिक हुनुभयो । त्यसपछि हामीमा उत्साह थपियो । माओवादीका मुद्दाहरू पुनरावेदन अदालतले हेर्ने भनियो । हामीले पनि अदालत जाने निर्णय गर्यौँ । सुरुमा सँगै भएका बन्दीमध्ये सातजना पुरावेदन अदालत जाने निर्णय गर्यौँ । पुनरावेदन गएर रिहा भएकामध्ये दुईजनालाई नक्कली मुद्दा लगाइयो । यातनाका कारणले उहाँहरू डिप्रेसनमा पर्नुभयो ।

जेलनजिकै रहेको लाइब्रेरीमा कसैले कम्युनिस्ट विचारधाराका पुस्तकहरू पढेको छ भने प्रशासनले खोस्ने गथ्र्यो । हामीलाई असाध्यै मानसिक यातना दिइएको थियो । त्यही क्रममा २१ चैत ०६० मा मलाई पुनरावेदन अदालत इलाम झिकायो र रिहा गर्न आदेश दियो । तर, अदालत परिसरभित्रै लखेटेर प्रहरीले पुनः पक्राउ गर्यो । त्यो दिन अब मलाई पनि नक्कली मुद्दा लगाएर यातना दिन्छ भन्ने लाग्यो । सुरुमा इलामको जिल्ला प्रहरी कार्यालयमा राख्यो । तर, राति झापा लैजाने भन्यो । मेरो मनमा डर पस्यो । राति झापा लाने क्रममा दोहोरो भिडन्तको नाममा मलाई बाटोमै गोली ठोकेर मार्छन् कि भन्ने लाग्यो । झापासम्म लैजाँदा बाटोमा मनमा धेरै कुरा खेले ।
त्यतिखेर पिसाबले च्यापेको थियो । तर, जबर्जस्ती रोकेँ । भाग्न खोजेको बहानामा सिध्याउलान् भन्ने डरले पिसाबको पीडा दबाएर राखेँ । बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय झापाको हिरासत पुर्यायो । त्यो हिरासतमा अन्य माओवादी बन्दी थिएनन् । केही मादक पदार्थ सेवन गरेका व्यक्ति थिए । उनीहरू मलाई थर्काउँथे । भोक खुबै लागेको थियो । त्यसो त बाटोमा प्रहरीले समोसा र तरकारी दिएका थिए । तर, खाएको थिइनँ । विष मिसाएर मार्न खोजेको हो कि भन्नेसम्म सोच्न पुगेँ । झापा प्रहरी कार्यालयमा पुगेपछि भोक लागेको कुरा सुनाएँ । उनीहरूले भात ल्याइदिए । पत्रिकाले छोपेर ल्याएको भातमा १०–१२ वटा साङ्ला मरेका रहेछन् । भोक लागे पनि खान सकिनँ । अब भोकले भन्दा पीडाले मलाई बढी सतायो । त्यो घटनामा आँसु थाम्न सकिनँ । खाना लिएर आउने प्रहरीले माथि–माथिको फालेर खान भन्यो । तर, मैले खाइनँ ।
बाबु रुँदा मेरो पनि मन रोयो
म हिरासतमै हुँदाको अर्को घटना बिर्सिन सक्दिनँ । मलाई आफ्ना बाबु कडा स्वभावको लाग्थ्यो । बाबु रोएको कहिल्यै देखेको थिइनँ । तर, झापाको जेलमा मलाई भेट्न बाबु आउनुभयो । उहाँलाई गेटमा बोलाइयो । उहाँले मलाई कस्तो छ भनेर सोध्नुभयो । मैले परीक्षा आउँदै छ, तयारी गरिरहेको छु भनेँ । फर्किने वेलामा उहाँ नराम्रोसँग रुनुभयो । बाबुको आँखामा पहिलोचोटि आँसु देख्दा मेरो मन पनि रोयो ।
१७–१८ वर्षको त्यो उमेरमा खासै राजनीति बुझेको थिइनँ । तर, परिवर्तनका लागि हामी लड्नपर्छ भन्ने लागेको थियो । समाजमा रहेका समस्याविरुद्ध हामीले आवाज उठाउनुपर्छ, सबै खालका चुनौतीसँग लड्नुपर्छ भन्ने लागेको थियो । म मानसिक रूपमा तयार भएको थिएँ । मेरा सरहरू नै पूर्णकालीन कार्यकर्ता भएर लाग्नुभएको थियो । त्यसैले पनि म तयार भएर लागेको थिएँ ।

ऐतिहासिक नेतृत्व पाएँ
समाज रूपान्तरणका लागि हिँडिरहेको अवस्थामा हाम्रो संगठनमा यसअघि आवश्यकताका आधारमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको थियो । तर, पछिल्लो चरणमा भने संगठनात्मक सवालमा केही प्रश्न उठेका थिए । संगठनमा नातावाद, कृपावाद, टीकेप्रथालगायत प्रश्न थिए । विद्यार्थीबाट नचुनिएको विद्यार्थी नेतृत्व, शैक्षिक परिवर्तनप्रति उत्तरदायी हुँदैन भन्ने आरोप थियो ।
१८औँ राष्ट्रिय सम्मेलनबाटै नेतृत्व चयनका लागि नयाँ विधि र प्रक्रियाबाट जानुपर्छ भन्ने विषयमा संगठनभित्र छलफल भइसकेको थियो । १९औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचन प्रक्रियामा जाने निर्णय गरेका थियौँ । तर, कार्यान्वयन गर्न सकेनौँ । तलबाट कार्यान्वयन गर्दै आउने कि माथिबाट भन्ने बहसमा थियौँ । यसपटक माथिबाटै कार्यान्वयनमा जाऔँ भन्ने निर्णय भयो । प्रतिस्पर्धी साथीहरूले पनि पार्टीसमक्ष साझा प्रतिबद्धता राख्यौँ । स्वस्थ र मर्यादित निर्वाचनमा जान्छौँ र हार वा जित स्वीकार गर्छौं भन्यौँ । पार्टी नेतृत्व ‘कन्भिन्स्ड’ भयो । संगठनमा पहिलोपटक निर्वाचन प्रक्रियाबाट प्रतिनिधिको मतले पदाधिकारी र सदस्यहरू निर्वाचित हुने परिस्थिति बन्यो । यो ऐतिहासिक थियो । ऐतिहासिक निर्वाचनबाट नेतृत्वमा पुग्न पाउँदा खुसी लागेको छ । विद्यार्थी प्रतिनिधिले विश्वासका साथ जिम्मेवारी दिनुभयो । मबाट संगठनले खोजिरहेको अपेक्षा पूरा गर्न सशक्त भएर लाग्नेछु ।
आफैँलाई मूल्यांकन गर्दा
अखिल क्रान्तिकारीमा मलाई साथीहरू ‘एक्सन ओरिएन्टेड’ व्यक्तिका रूपमा बुझ्नुहुन्छ । मैले संगठनमा अहिलेसम्म जे जिम्मेवारी पाएको छु, त्यसलाई राम्रोसँग सम्पन्न गरेको छु । संगठनमा आफ्ना विषय स्पष्ट रूपमा राख्न सक्ने व्यक्ति पनि हुँ । संगठनलाई चुस्त–दुरुस्त बनाएर शैक्षिक आन्दोलनको नेता संगठन बनाउन सक्ने विषयमा मैले आफ्ना एजेन्डा पनि राखेको थिएँ । त्यसकै आधारमा नेतृत्वमा छान्नुभयो भन्ने मलाई लाग्छ ।
रचनात्मक आन्दोलन र समृद्धि अबका एजेन्डा
नेपालको विद्यार्र्थी आन्दोलन पनि राजनीतिक अवस्थासँगै परिवर्तित हुनुपर्ने आवश्यकता छ । हिजो केन्द्रीकृत शासन र निरंकुशताविरुद्ध लड्दाको विद्यार्थी आन्दोलन र अहिले संघीयता, शासकीय स्वरूप परिवर्तन भएको वेलामा फरक हुनुपर्छ । विद्यार्थी संगठनको चरित्र फरक हुनुपर्छ । अब विद्यार्थी आन्दोलन रचनात्मकता र देशको समृद्धिका लागि केन्द्रित हुनुपर्छ । अहिले राजनीति फोहोरी खेल हो, यसको आवश्यकता नै छैन भने मनोविज्ञान तयार पारिँदै छ । राजतन्त्र टिकाउनका लागि यो कुराबाट बढी प्रशिक्षित गरियो ।
कुलीनतन्त्र कहिल्यै विद्यार्थीको पक्षमा थिएन । विद्यार्थी संगठनमा धेरै आकर्षण नरहेको होइन । सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीमा राजनीतिप्रति आकर्षण छ । विद्यार्थी राजनीतिमा विकषर्ण पैदा हुनुमा परिर्वतनविरोधीले त्यस्तै वातावरण सिर्जना गर्नु हो ।
म विद्यार्थीका हक–हितका मुद्दा, संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गराउने पक्षमा छु । विद्यार्थीलाई संगठित गर्ने र रचनात्मक ढंगबाट अगाडि लैजाने सोचमा छु । विद्यार्थी आन्दोलनलाई सत्तापक्ष होइन, प्रतिपक्ष धारमा लैजाने, राष्ट्रियता र जनजीविकाको पक्षमा जहिले पनि पहरेदार भएर उभिने, सार्वजनिक शैक्षिक संस्थाको सुधार र पुनःसंरचना गर्नेमा मेरो जोड हुन्छ । बढ्दो निजीकरण र व्यापारीकरणको समस्या हल गर्न सरकारी शैक्षिक संस्थामा लगानी गर्ने, सरकारीमा पनि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने, बेरोजगार जनशक्तिलाई रोजगार बनाउन सरकारलाई पहल गर्नेमा मेरो संगठनको जोड रहन्छ । शैक्षिक ऋणको निर्णय भए पनि कार्यान्वयन भएको छैन । कार्यान्वयनका लागि म पहल गर्नेछु । समग्रमा अखिल क्रान्तिकारीलाई एक नम्बरको संस्था बनाउने र यस संस्थालाई समग्र क्रान्तिकारी विद्यार्थीको संगठन बनाउने लक्ष्य राखेको छु ।नयाँ पत्रिका



