बिष्णुप्रसाद पोखरेल दमक । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले लामो समयदेखि चियाको क्षेत्रमा देखिएको समस्या सामधानका लागि इ–अक्सन सञ्चालनको प्रयास गरिएपनि त्यो अहिलेसम्म सम्भव नभएको बताउनु भएको छ । अहिले नेपालको चिया अन्तराष्ट्रिय बजारमा जान नसक्नुको कारण बिषादीको प्रयोग भएको भन्दै यसलाइ निरुत्साहित गरेर इ अक्सनमा जाँदा नेपालको चिया विश्वबजारमा जाने उहाँले बताउनु भयो ।
पूर्वी नेपालका चिया क्षेत्रका समस्या बुझ्न तथा छलफलका लागि झापा आउनु भएका कार्यकारी निर्देशक गौतमले पत्रकारहरुसंग कुरा गर्दै चिया क्षेत्रमा देखिएको समस्या सामधानका लागि नीतिगत रुपमा नै अघि बढ्न सरोकारवालाहरुलाइ आवश्यक सुझाव सहितका प्रतिवेदनहरु तयार पारेर आफूहरुले बुझाएको जनाउनु भयो ।
चिया किसान, चिया उद्योगि र मजदूरका समस्याहरु सामधानका लागि आफूहरुले प्रयास गरिरहेको बताउदै अक्सन सञ्चालनका लागि अहिले पनि प्रयास जारी रहेको उहाँको भनाइ छ ।
क्रेता र बिक्रेता जम्मा भएर चियाको गुणस्तरअनुसार निश्चित मूल्यमा खरिदबिक्रीको सम्झौता गर्ने थलोलाई अक्सन केन्द्र भनिन्छ । अहिले यस्तो अक्सन केन्द्र नहुदा उद्योगिहरुले मनलाग्दि हरियोपत्तीको मूल्य तोक्ने गरेको चिया किसानहरुको गुनासो रहदै आएको छ ।
बारम्बार मूल्यको बिषयमा उद्योगि र चिया किसानबीच तनाव हुदा चिया क्षेत्र नै अस्तब्यस्त हुने गरेको छ । झापाको बिर्तामोडमा अक्सन सेन्टर खोल्नका लागि आवश्यक प्रक्रिया शुरु भएपनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको छैन । गौतमले इ–अक्सन सञ्चालनका लागि आवश्यक सफ्टवेयर र सामाग्रिहरु सबै जुटाइसकिएको जानकारी गराउनु भएको छ ।
गौतमले नेपालमा आत्मनिर्भर भएर बिदेशी आर्यात हुने गरेको कृषि उत्पादनमध्ये चिया पनि एक भएको चर्चा गर्दै चियाक्षेत्रको समस्या सामधान भएमा यसबाट धेरै फाइदा लिन सकिने सम्भावाना प्रचुर रहेको बताउनु भयो । अहिले बिषादी रहित चिया अत्यन्त कम उत्पादन भएको र त्यसले राम्रोसंग अन्तराष्ट्रिय बजार पाएको उहाँको भनाइ थियो ।
पुर्वी नेपालको इलाममा बार्षिक करिब ५० लाख केजी हरियो चिया पत्ती उत्पादन हुने र यसमा करिब ३ लाख केजीमात्र आग्र्यानिक चिया रहेको उहाँले बताउनु भयो ।
अग्र्यानिक चियाको हरियो पत्ती प्रतिकिलो १ सय रुपिया भन्दा बढिमा बिक्ने गरेको तर बिषादी प्रयोग भएको चिया पत्तीको मूल्य भने १७ देखि २० रुपिया प्रतिकेजीमात्र बिक्ने गरेको बताइन्छ । कार्यकारी निर्देशक गौतमले अग्र्यानिक चिया खेतीका लागि सरकारले सबैभन्दा पहिला अग्र्यानिक मल उत्पादन गर्ने कारखानाहरु खोल्न आवश्यक रहेको बताउनु भयो ।
अग्र्यानिक मल उत्पादन शुरु भएपछिमात्र बिषादीको प्रयोग र अन्य मलको प्रयोग घट्ने भन्दै यस बिषयमा आफूहरुले सरोकारवाला निकायहरुको ध्यानकर्षण गराएको गौतमले जनाउनु भयो । तत्काल बिषादी रहित रुपमा चिया उत्पादन सम्भव नभएपनि प्रतिबन्धित किसिमका बिषादीहरुलाइ रोकेर कमी गर्दै लैजानु पर्ने सुझाव दिनु भयो ।
नेपालको चियालाइ अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनका लागि गुणस्तर सुधार नै पहिलो शर्त भएको उहाँको भनाइ रहेको छ ।










