चुनावमा मत आफ्नो पक्षमा पार्न राजनीतिक दलहरुले विभिन्न हत्कण्डा अपनाउँछन् । उच्च शैलीको प्रचार मार्फत दलहरु आफ्नो मत बढाउन लागि पर्छन् ।
त्यसका लागि विभिन्न भिडियो र गीत संगीतहरुमार्फत आफ्नो प्रचार प्रसार गर्ने शैली पछिल्ला चुनावहरुमा बढेर गएको छ ।
‘हाईटेक’ शैलीको प्रचार अपनाउने अभियानमा दलहरु उत्रिएपछि चुनाव नजिक कलाकारहरुसमेत चर्चामा रहे ।
चुनावी अभियानका लागि गाइएका केही गीत त यती धेरै चर्चित भए कि एउटै गीतका कारण उनीहरु स्थापित भए ।
मुलधारे पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र, राप्रपासहितका केही दलले पहिलो चरणको स्थानीय तहको चुनाव अघि आफ्ना दलको प्रचार गर्दै गीतहरु सार्वजनिक गरेका थिए ।
चुनावी परिणाममा बाजी मारेर दुई चरणको चुनावमा पहिलो भएको एमालेले चुनावी गीतमा पनि बाजी मारेको छ । यूट्युवमा एमालेको चुनावी गीत ‘मै पनि एमाले सही पनि एमाले’ बोलको गीत सर्वाधिक चर्चामा रह्यो । बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा रहेको गीत १५ लाख २५ हजार भन्दा धेरै पटक सुनिएको छ ।
एमालेको चुनावी गीत ‘मै पनि एमाले…’ चुनावताका भाइरल नै भयो । एमालेले गाउँदेखि शहरसम्म चुनावी प्रचारमा यही गीत घन्कायो । गीतको हुनैसम्म चर्चा भयो ।
गायक बद्री पंगेनी त नेपाली दर्शक तथा स्रोतामाझ परिचित नै थिए । तर गायिका तथा मोडल प्रियालाई भने यो गीतले देशभर चर्चित बनायो । उनलाई अहिले धेरैले ‘मै पनि एमाले’ गीत गाउने कलाकार भनेर चिन्ने गरेको प्रिया सुनाउँछिन् ।
गुल्मीकी प्रिया भण्डारीका लागि यो गीत पहिलो भने होइन । बुटवलको अक्सफोर्ड क्याम्पसमा स्नातक पहिलो वर्षमा पढ्दै गरेकी भण्डारीले विद्यालय तहमा पढ्दा विद्यालयस्तरीय विभिन्न कार्यक्रममा भाग लिने गर्थिन् । प्रायः प्रतियोगितामा प्रथम पनि हुन्थिन् । एसएलसीलगत्तै उनले तीजको गीत पनि रेकर्ड गराइन् ‘अनलाइनमा आऊ भनेकी छन्’ बोलको तीज गीत ।
गीतले खासै चर्चा त पाएन तर उनलाई फाइदै पु–यायो । त्यसपछिका गीत ‘झुपडी पनि दरबार हुन्छ’, गुन्यु चोली, लगायतका आधुनिक तथा पप गीतमा पनि स्वर दिइन् तर उनलाई लोकगीतले धेरै चर्चा दिलायो । प्रियाको स्वरको मात्र होइन, मोडलिङको समेत राम्रै चर्चा हुने गर्छ । यसपटक बद्री पंगेनीसँग गाएको गीत ‘भाउजुको हाइ हाइ छ’ ले पनि राम्रो चर्चा पायो । ‘मेरा तीजका गीत पनि धेरैले रुचाइदिनुभएको छ, अभिनय पनि मन परेको प्रतिक्रिया दिनुहुन्छ ।’ प्रिया भन्छिन्, ‘गीत मन पराएरै देश तथा विदेशमा हुने कार्यक्रममा पुग्ने गरेकी छु ।’
एमालेको गीत गाएपछि भने उनको चर्चा अझै चुलिएको छ । बुटवलमा त उनलाई पहिले नै चिनिसकेका थिए । अहिले अन्य शहरमा पनि उनको स्वरको तारिफ हुन थालेको छ । मोडलिङमा देखिएपनि गीतलाई नै प्राथमिकता दिने बताउँछिन् प्रिया । भन्छिन्, ‘गाएका केही गीतमा मोडलिङ पनि गरेकी छु, अब भने मोडलिङलाई भन्दा गीतलाई नै महत्त्व दिने सोच छ ।’
आफू एमाले नभएपनि शुरुमा एमालेको गीत गाउने प्रस्ताव आएपछि उनले उक्त गीत गाइन् । अन्य पार्टीबाट आएका प्रस्तावलाई भने उनले स्वीकारिनन् । किन त ? उनी भन्छिन्, ‘एउटा पार्टीको गीत गाइसकेपछि अर्को गाउनु ठीक हुन्न कि भन्ने पनि लाग्यो, तर कलाकारले जुनै गीत पनि गाउनुपर्छ ।
राजनीतिक दलको गीत गाए पनि कुनै खास दलप्रति आफ्नो आस्था नभएको उनको दाबी छ । ‘गीत गाए पनि म राजनीतिक रुपमा एमालेसँग आवद्ध छैन,’ प्रिया भन्छिन्, ‘अबका दिनमा अरु पार्टीबाट गीत गाउने प्रस्ताव आए पनि म तयार हुन्छु ।’
एमालेको गीत गाउँदा उनलाई केही प्रशंसकले गालीसमेत गरेका थिए ।
यतिबेला स्नातक तहको परीक्षा दिइरहेकी प्रिया यतिबेला भने आफ्नो पढाइमै व्यस्त छिन् । ‘तीजमा पनि दुबई र अस्ट्रेलियाका कार्यक्रममा व्यस्त भएँ, अहिले पढ्दैनैप–यो ।’, उनी मुस्कुराउँदै सुनाउँछिन्, ‘यही बेला त हो पढ्ने, पछि त फेरि व्यस्त भइन्छ ।’
देश तथा विदेशका दर्शकले चिन्न थालेपनि मोफसलमा बसेर कलाकारिता गर्न गाह्रै हुने गरेको प्रियाको बुझाइ छ । गीत रेकर्ड गर्नदेखि लिप्सिङ गर्नसमेत काठमाडौं आउनुपर्दा कहिलेकाहीं पढाइ छुट्छ पनि । ‘कामको प्रकृति बुझेर गुरुहरुले मलाई सहयोग गरिरहनुभएको छ ।’ उनी थप्छिन्, ‘काठमाडौंमा धेरै आफन्त भएकाले खासै गाह्रो त हुँदैन तर कहिलेकाहीं समय मिलाउन समस्या हुन्छ ।’
संगीत र पढाइ साथसाथै लगिरहेकी प्रिया आफूले अहिलेसम्म जोडी नबनाएको बताउँछिन् । ‘अहिलेसम्म सिंगल नै छु ।’ उनी हाँस्दै सुनाउँछिन्, ‘प्रेममा लागिएन । बरु संगीतसँगै प्रेम बस्यो ।’
कमर्स पढ्दै गरेकी प्रिया भविष्यमा पढाइ र गायनलाई सँगसँगै लैजाने योजनामा छिन् । संगीत क्षेत्रमा पाइला चालेको छोटो समयमै सफलता पाउँदै गएकी प्रिया मोडलिङ गरेपनि फिल्ममा भने रुचि नभएको बताउँछिन् । ‘पढाइ त सँगसँगै लैजानु नै छ, गीतमा पनि आफूलाई स्थापित गर्न सकियोस् तर फिल्ममा भने रुचि छैन ।’, उनी भन्छिन् ।



