काठमाडौं । यातायात व्यवसायीहरु दशैँमा काठमाडौं उपत्यकाबाट घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न राजी भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँगको वार्तापछि व्यवसायीहरु अग्रिम टिकट बुकिङ खोल्न राजी भएका हुन् ।
मन्त्रीसँग भएको छलफलपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘यातायात मन्त्रालयले हामीले राखेको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।
हामीले झिटी गुण्टा राख्नका लागि छत राख्न दिनु पर्छ भनेका थियौँ । मन्त्री ज्यूले हुन्छ भन्नु भयो । अब यात्रुहरुको सामान राख्न छत राख्ने र बाटोहरु तत्काल मर्मत गरिदिने सहमति भएको छ ।’
सिटौलाका अनुसार अब आउँदो २७ गतेदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने पक्का भएको छ । यसअघि भदौ २२ बाट खोल्ने सहमति भएकामा यातायात व्यवस्था विभाग छत राख्न सहमत नभएपछि व्यवसायीले अग्रिम टिकट काट्न मानेनन् ।
मन्त्री बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने तर व्यावसायिक प्रयोजनसहित यात्रु बोक्न नपाउने गरी सहमति भएको महासचिव सिटौलाले हाम्रकुरालाई जानकारी दिए ।
यातायात व्यवसायीले भाडा बढाउनुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग राखेका थिए । यातायात व्यवस्था विभागले व्यसायीले अग्रिम टिकट बुकिङ नगरे स्कुल, सरकारी कार्यालय र साझाका बस बाहिर पठाउने तयारी गरिरहेकै बेला व्यवसायी र सरकारबीच समझ्दारी भएको हो । हाम्रा कुरा बाट



