भाद्र २४, २०७४-दसैं नजिकिएसँगै विराटनगरबाट काठमाडौंको हवाई भाडा निकै सस्तिएको छ । बस भाडा र हवाई भाडा झन्डै बराबरी छ । यहाँबाट चल्ने माइक्रोबसले १५ सय भाडा लिन्छन् भने हवाई भाडा १७ सय कायम गरिएको छ । शुक्रबारबाट एक साताका लागि विराटनगर–काठमाडौंको हवाई भाडा सस्तो भएको हो ।

‘आजबाटै हामीले १७ सयमा टिकट काट्न थाल्यौं,’ जागृति ट्राभल्सका सञ्चालक गणेश लामाले भने, ‘हाललाई एक साता भनिएको छ तर यो भाडा दसैंैको टीकाका दिनसम्म रहने स्थिति छ ।’ हवाई मार्गबाट काठमाडौं जाने यात्रुहरू कम भएका कारण भाडा यति सस्तो भएको हो । चाडपर्व लाग्न थालेकाले हाल काठमाडौंबाट विराटनगर आउने यात्रुको चाप भने बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दैनिक ६ सयभन्दा बढी यात्रु विराटनगर विमानस्थलबाट काठमाडौं जाउजाउ गर्छन् । केही दिनयता डेढ सय पनि नभएपछि एयरलाइन्सले भाडा घटाएका हुन् । ‘दसैं लागेजस्तो छ, विराटनगर आउने यात्रु छन् तर यताबाट जाने ह्वात्तै घटे,’ यती एयरलाइन्सका स्टेसन मेनेजर प्रेम कुँवरले भने, ‘त्यसैले भाडा घटाउनुपरेको हो ।’ यात्रुको चाप हेरेर भाडा बढाइने कँुवरले बताए ।