महोत्तरी। नेपाली काँग्रेस महोत्तरीले आधिकारीक उम्मेदवार विरुद्ध बागी भई तथा अन्य पार्टीमा गई उम्मेदवारी दर्ता गराएकाहरुको साधारण सदस्यता समेत नरहने गरी कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । नेपाली काँग्रेस महोत्तरीको कार्यसमितिको बसेको बैठकले एकदर्जन त्यस्ता नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि सिफारिस गरेको हो ।

नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले पार्टीको निर्णय विपरित जाने जो सुकैलाई पनि कारवाहीको दायरा भित्र ल्याउने अभिप्रायले कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको जानकारी गराए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी कारवाहीमा पर्नेहरुमा औरही नगरपालिका वडानं. ३ का महाधिवेशन प्रतिनिधि महेन्द्रकुमार राय, मनरा नगरपालिका वडानं. ५ का महाधिवेशन प्रतिनिधि महेन्द्र यादव, लोहारपट्टी नगरपालिकाका रामसुराग यादव, गौशाला नगरपालिका वडानं. १२ का महेन्द्र महतो, पिपरा गाउँपालिका वडानं. १ बस्ने राहुल पाण्डे, अशोक पाण्डे तथा सोही गाउँपालिका वडान. २ बस्ने ब्रम्हदेव यादव तथा विरेन्द्र मिश्र रहेका छन् ।

त्यसैगरी मनरा गाउँपालिका वडानं. १० बस्ने महेश्वर मिश्र, जलेश्वर नगरपालिका वडानं. ६ बस्ने सुलेमान अंसारी, गौशाला नगरपालिका वडानं. ४ बस्ने सुरतन यादव तथा मनरा वडानं. १ का वडासभापति नागेन्द्र साह रहेका छन् । पार्टीले गरेको निर्णय विपरित उम्मेदवारी दिनु तथा अन्य पार्टीमा गएकोले कारवाहीको लागि सिफारिस गरिएको सभापति रायले जानकारी दिए।

त्यसैगरी कार्यसमितिको बैठकले आर्थिक रुपले कमजोर परेका उम्मेदवारहरुलाई आर्थिक मद्दतका लागि केन्द्रीय कार्यालयसंग माँग गर्ने निर्णय गर्नुका साथसाथै जिल्ला सभापतिको संयोजकत्वमा सम्पूर्ण जिल्ला सदस्यहरु, सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु तथा क्षेत्रीय सभापतिको संयोजकत्वमा सम्पूर्ण क्षेत्रका सदस्यहरु रहनेगरी प्रचारप्रसार समिति समेत बनाइएको सभापति रायले जानकारी दिए ।

उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा काँग्रेसका सम्पूर्ण भातृसंगठनका पदाधिकारी र शुभेच्छुकहरुलाई रुख चिन्हमा मतदान गर्न समेत निर्देशन र आग्रह गरे।