काठमाडौँ, २७ भदौ । नेपाल प्रहरीका डीआइजी नवराज सिलवालले वरिष्ठताका आधारमा आफूलाई आइजीपी नियुक्त गर्न दायर गरेको रिट निवेदन अन्ततः खारेज भएको छ ।
सर्वोच्च अदालतको मंगलबारको बृहत पूर्ण इजलासले सिलवालको रिट निवेदन खारेज भएको निर्णय सुनाएको हो । वृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी थिए।
आफूभन्दा कनिष्ठलाई आइजिपी नियुक्त गरेको भन्दै सोको खारेजीको माग गर्दै डीआइजी सिलवालले २०७३ चैत ३० गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलामा कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै सिलवालभन्दा अघि देखिएको उल्लेख छ। अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर १५४.२ छ भने सिलवालको १५२.४ छ।
सर्वोच्चको यो फैसलासँगै आइजीपी नियुक्तिसँगै विवाद सकिएको छ ।
यसरी भयो झेल
कुनै पनि हालतमा नवराज सिलवाललाई महानिरीक्षक बन्न नदिने काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्देश्य अन्ततः पूरा भएको छ । प्रहरी महानिरीक्षकको लफडाले नेपाल प्रहरीमा अत्यन्तै सक्षम र स्वच्छ छविका सिलवालको करिअर नै समाप्त भएको हो ।
पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारले तेस्रो नम्बरमा रहेका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाएपछि सरकारको निर्णयलाई काउन्टर दिँदै एक नम्बरका डीआइजी नवराज सिलवाल सर्वोच्च अदालतमा पुगेका थिए । अदालतले चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न भन्यो । सिलवाल र चन्दलाई जुधाएर त्यसको फाइदा दुई नम्बरका डीआइजी प्रकाश अर्यालले लिए । त्यही झगडामा टेकेर उनले प्रहरी महानिरीक्षकको फुली पनि लगाए ।
सर्वोच्च अदालतले सिलवालको पक्षमा फैसला गर्ने आशंकामा पुष्पकमल दाहाल र शेरबहादुर देउवाको डिजाइनमा तत्कालिन प्रधानन्यायाधिश सुशीला कार्कीमाथि नै महाअभियोग लगाइयो । इतिहासमै पहिलोपटक महाअभियोगको कालो धब्बा लगाउँदै कार्की सर्वोच्चबाट बाहिरिन् भने आइजीपीको फुली लगाउने दिन कुरेर बसेका सिलवाल हेरेको हेर्यै भए । एक नम्बरका डीआइजी रहेका सिलवाल आफ्ना ब्याचीले आइजीपी र एआइजीको फुली लगाएको हेरेर बस्न बाध्य भए। उनी भन्दा जुनियरहरु समेत एआइजी बढुवा भइसक्दा सिलवाल भने डीआइजीका रुपमा अदालत धाउँदैमा व्यस्त थिए ।
अदालतको मंगलबारको फैसलापछि डीआइजी सिलवाललाई नराम्रोसँग नैतिक बन्धन परेको छ । अब उनीलाई डीआइजी पदमै जागिर जाने अबस्था रहेन । सिलवालका सामु मात्र दुई वटामात्रै विकल्प थिए ।
पहिलो, एआइजी बढुवा कुर्ने र एक तह भने पनि बढुवा खाएर राजीनामा दिने ।
दोस्रो, तत्कालै पदबाट राजीनामा दिएर सरकारलाई चुनौती दिने ।
डीआइजी सिलवाल आगामी पुस ४ गते रिटायर्ड हुँदैैछन् । तर, सिलवाल भने अब प्रहरी हेडक्वार्टर फर्कने मनस्थितिमा छैनन् । आइजीमा बढुवा नभए अब राजीनामा दिने मनस्थितिमा रहेको यसअघि नै उनले आफ्ना निकटस्थलहरुलाई बताउँदै आएका थिए ।



