स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै छानविन आयोगका नाममा पार्टी सदस्यदेखि नेतासम्मलाई स्पष्टीकरणको कारवाही थालेपछि एमाले झापामा खैलाबैला सुरु भएको छ ।
गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेता कार्यकर्ताबाटै अन्तरघात भएकाले पार्टीका उम्मेदवारले हारेको भन्दै गत साउन २ गते बसेको जिल्ला कमिटीको बैठकले निर्वाचनमा के भएको हो सोको सत्य तथ्य बाहिर ल्याउने गरी स्थानीय तह निर्वाचन छानविन आयोग बनाएको जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुंगेलले बताए ।
ढुंगेलका अनुसार कार्यकर्ताको गुनासो र निर्वाचनमा भएको वास्तविकता बाहिर ल्याउने गरी जिल्ला कमिटीका सचिवालय सदस्य राधाकृष्ण खनालको संयोजकत्वमा आयोग गठन गरिएको हो । खनाल आयोगले अन्तरघातको आरोप लगाउँदै पार्टी सदस्यदेखि नेतासम्मलाई स्पष्टीकरणको चिट्ठी काट्न थालेपछि पार्टी भित्र–बाहिर खैलाबैला सुरु भएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुले हारेपछि अन्तरघातीहरुलाई कारवाही गरिनुपर्ने आवाज उठिरहेका बेला जिल्ला कमिटीले छानविन आयोग गठन गरेर कारवाही सुरु गरेको जिल्ला कमिटी स्रोतले बताएको छ ।
पार्टीले निर्वाचनमा भएको सत्यतथ्य बाहिर ल्याउनेभन्दा पनि व्यक्तिगत तथा गुटगत पूर्वाग्रह साँध्न खोजिएको भन्दै अर्को पक्षले अन्तरघातीहरुको सूची बनाएर पार्टी झन् संकटमा पर्ने जिकिर गरेको छ । उम्मेदवार छनौटमा पार्टी नेतृत्वले गरेको कमजोरी ढाकछोप गर्ने प्रयास भएको भन्दै यसले आगामी निर्वाचनमा समेत असर गर्न सक्ने बताएको छ ।
“यो गुटगत पूर्वाग्रहको परिणाम हो” स्पष्टिकरणको चिट्ठी प्राप्त गरेका जिल्ला कमिटीका एक सदस्यले भने– “यस्तो तरिकाले पार्टी बन्ने होइन, झन् संकट आइपर्छ ।” ती सदस्यले छानविन समितिका नाममा पार्टीले “आलोचक र विरोधी सिध्याउने” खतरनाक योजना बनाएको आशंका व्यक्त गरेका छन् ।
छानविन आयोगले सम्बन्धित कमिटीले उपलब्ध गराएको सूचनाका आधारमा सूची तय गरेको बताएको छ । स्थानीय तहको निर्वाचनमा भएका कमजोरीहरुबारे सम्बन्धित पार्टी कमिटीबाट प्राप्त गुनासोका आधारमा छानविन गरिएको आयोगका संयोजक राधाकृष्ण खनालले बताए ।
केही जिल्लास्तरीय नेता, कार्यकर्ताहरु बाहेक सबैजसो तल्लै तहबाट प्राप्त नाम भएको संयोजक खनालको दाबी छ । उनकाअनुसार छानविनको दायराभित्र जिल्ला भरिबाट करिब २५० को संख्या रहेको छ । यसमध्ये ५३ जना नगर कमिटीभन्दा माथिका र ७ जना जिल्ला कमिटीभन्दा माथिका नेता रहेको संयोजक खनालले जानकारी दिए ।
जिल्ला कमिटी स्रोतले भने यो संख्या करिब ७०० को हाराहारीमा रहेको बताएको छ । तर संयोजक खनालले भने सो संख्यालाई अस्वीकार गरेका छन् । खनालका अनुसार छानविनको दायरामा आएका नामहरु मध्ये सामान्य जिम्मेवारीमा रहेका पार्टी सदस्यहरुको संख्या ठूलो छ । उनले छानविनकै क्रममा ती व्यक्तिहरुलाई स्पष्टीकरण सोधिएको पनि बताएका छन् ।
“प्राप्त गुनासो र आरोपका आधारमा हामीले पहिलो चरणमा स्पष्टीकरण सोधेका हौं” संयोजक खनालले भने– “छानविन पछि असोजको पहिलो साताभित्र हामी प्रतिवेदन जिल्ला कमिटीलाई बुझाउने छौं ।”
जिल्ला कमिटीलाई प्रतिवेदन बुझाए पछि मात्र कारवाहीको प्रक्रिया सुरुहुने उनले बताए । यसबेला सोधिएको स्पष्टीकरण कारवाही नभएर छानविनका लागि अनुसन्धान मात्र भएको संयोजक खनालले प्रष्ट पारेका छन् ।



