नेकपा एमालेको आगामी असोज ६ गतेदेखि केन्द्रीय समिति बैठकले एक्कासि दुईवटा नयाँ विषयमा नयाँ निर्णय गर्ने भएको छ । सो बैठकले निर्वाचन अघिनै भावी प्रधानमन्त्रीको विषयमा बहस चलाउने र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका विषयमा अन्तिम निर्णय गर्ने भएको हो ।
केन्द्रीय समिति बैठकले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबारे निक्र्योेल गरेर जाने भएपछि सो पार्टीभित्र भावी प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबारे बहस सुरु भएको छ । एक नम्बर प्रदेशदेखि सात नम्बर प्रदेशमा मुख्यमन्त्री हुने नेताहरुको खोजी समेत हुन थालेको छ ।
मुख्यमन्त्री हुने कुनै पनि नेताले सम्बन्धित जिल्लाबाट प्रदेशसभा निर्वाचन जितेर आउनुपर्ने प्रावधान रहेको छ । सो नियममा वाँधिएर निर्वाचन लड्दा सातवटै प्रदेशबाट एमालेका एउटै तहका नेताहरु नपर्ने संकेत देखिएको छ ।
कुनै प्रदेशमा केन्द्रीय समिति स्तरका नेताहरु पर्ने देखिएको छ भने कुनैमा पोलिटब्यूरो र स्थायी कमिटी सदस्य समेत पर्ने देखिएको छ । सातवटै प्रदेशबाट मुख्यमन्त्रीको लागि नेताहरु चयन करिब २ दर्जन नेताहरुको प्रतिस्पर्धा हुने एमाले निकट श्रोतले जनाएको छ ।
ती नेताहरु को–को हुन भन्नेबारेमा भने निश्चित भइनसकेको जनाइएको छ । त्यस्तै भावी प्रधानमन्त्री को हुने भन्ने विषयमा पनि एमालेले यो केन्द्रीय समिति बैठकबाट निर्णय लिने श्रोतको दाबी छ । यसका लागि पार्टी अध्यक्ष केपी ओलीदेखि पार्टी उपाध्यक्ष र बरिष्ठ नेताहरुसम्मको विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा र मंसिर १० र २१ गते हुने निर्वाचनबारे भावी रणनीति समेत तय गर्ने जनाईएको छ । एमालेले पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा अग्रिम मत प्राप्त गरेको छ ।
स्थानीय चुनावबाट मुलुककै सबैभन्दा ठूलो पार्टीको रुपमा उदाएको सो पार्टीको केन्द्रीय समिति बैठकले गर्ने यी चार निर्णयले नेपालको पछिल्लो राजनीतिक परिवेशमा महत्वपूर्ण अर्थ राख्ने देखिएको छ ।



